चलाख राजनीतिज्ञले दिगोरूपमा परिवर्तन ल्याउन सक्दैन: किसुनजी


किसुनजीलाई सम्झदा जहिलेपनि मेरो आँखा रसाउँछ। उहाँमा कहीं दुर्लभ मानवीय गुण र गहन आध्यात्मिक निष्ठा थिए। अत्यन्त विनोदप्रिय, सरल र हस्सीमजाकी किसुनजी आफ्नो सिद्धान्त र निष्ठामा हिमालजस्तो अडिग रहनुहुन्थ्यो। ओशो र तपोवनप्रति वहाँको प्रेम थियो। शरिर अशक्त भएपनि ताम्दानीमा बसेर भएपनि तपोवन नियमित आइरहनुहुन्थ्यो। हामी घण्टौं सत्संग गथ्र्यौं र यसको परिधि विशाल हुन्थ्यो।

उहाँ आफ्नो जीवनका व्यक्तिगत, राजनैतिक रोचक प्रसंगहरु विनोदपूर्ण शैलीमा सुनाउनुहुन्थ्यो र बीचबीचमा आध्यत्मिक अनुभूतिहरु सुनाएर छक्क पार्नुहुन्थ्यो। मेरो किसुनजीसँगको सामान्य परिचय त धेरै पहिले भएको हो तर निकटको आत्मिय सम्बन्ध २०५६ साल देखि प्रगाढ भएको हो। त्यो निकटता यति गहन हुँदै गयो कि प्रत्येक साता उहाँसँग एक दुई चोटि नभेटे न मलाई सन्तोष हुन्थ्यो न उहाँलाई। जतिजति समय बितिरहेको छ, किसुनजीको चारित्रिक विशेषता, मानविय सद्गुण प्रतिको श्रद्धा र प्रेम निरन्तर बढदै गइरहेको म अनुभव गर्छु।

किसुनजी जस्तो राजनेता यही पूर्वीय हिन्दू परिवेशमा मात्र पैदा हुन सक्छ जस्तो मलाई लाग्छ । गान्धी जस्तो इमान्दार, कबीर जस्तो विद्रोही, मीरा जस्तो प्रेमपूर्ण र श्रीकृष्ण जस्तो प्रज्ञावान् व्यक्तिहरुको लामो श्रृंखला भएको संस्कृतिको परिवेशमा मात्र कृष्णप्रसाद भट्टराई जस्तो व्यक्ति पैदा हुन सक्छ । अध्यात्मका गहन पक्षहरुको पूर्ण तालमेलमा खारिएका राजनेताहरु जुनैपनि संस्कृतिमा विरलै पाइन्छन्। एक राजनेताका रुपमा उहाँ सफल तर राजनैतिक दाउपेच र चुनावी जोडघटाउका हिसाबले बारम्बार अपमानित र कमजोर जस्तो देखिनुहुन्छ। सत्यनिष्ठा र सबैलाई क्षमा गर्न सक्ने महानवृत्तिहरु प्रयोग गरेर शायद आजको राजनीतिमा कोही सफल हुनसक्दैन।

राणाहरुको जाहानियाँ शासनबाट जनतालाई मुक्तिको लागि युवावस्थामै स्वतन्त्रताको लडाइँमा किसुनजी होमिए। त्यसबेलाका क्रान्तिका कमाण्डर विशेश्वरप्रसाद कोइरालाका उहाँ निकटतम सहयोगी हुनुहुन्थ्यो। किसुनजी सुनाउनुहुन्थ्यो कि ०७ सालपछि उहाँको काठमाण्डौंमा बस्ने कुनै ठेगाना थिएन । विपिले त्यो बुझेर एकचोटि उहाँलाई भन्नुभएछ, ‘तपाईंलाई बस्ने ठाउँ छैन म कहाँ आएर बस्नुस्। तपाईंको पनि व्यवस्था मिल्छ, मलाई पनि सहयोग हुन्छ ।’ विपि र किसुनजी दुबैमा केही समानता थिए। दुवै पुस्तक अनुरागी, अध्ययनशील थिए। राम्रो वक्ता, राम्रो लेखक, साहित्य मर्मज्ञ र निष्ठाका राजनीति गर्दथे । विपिको यो सुझाव किसुनजीले सधन्यवाद अस्वीकार गर्नुभएछ । किसुनजीले भन्नुभएछ, ‘मेरो बानीव्यहोरा अलिक आफ्नै किसिमको छ । म स्वतन्त्र परिवेशमा मात्र बस्न सक्छु । निश्चित समयमा सुत्ने, ठीक समयमा उठ्ने र अलिक स्वच्छन्द ढंगले जिउने मेरो बानी छ । त्यसमा अलिकति पनि बाधा भयो भने म कामै गर्न सक्दिनँ । त्यसकारण मलाई यसरी नै सुकुम्बासी भएर बाँच्न दिनुस् ।’ वास्तवमा किसुनजी जीवनभरी सुकुम्बासी नै भएर बाँच्नुभयो।

किसुनजीको निष्ठा बज्र थियो । १० वर्षसम्म राजाले जेल कोचेपछि बिन्तिपत्र चढाएर अन्य नेताहरु जेलबाट छुटिसकेका रहेछन् । तर किसुनजीलाई त्यस्तो विन्तीपत्र लेख्न उहाँको निष्ठाले दिएन । अन्ततः ‘बिन्तीपत्र नलेखेपनि छोडिदिन्छौं तर बाहिर गएर प्रेसलाई नो कमेन्ट भनिदिनुस्’ भन्ने वाचा उहाँबाट सरकारले लिन खोज्दा पनि उहाँ मान्नुभएन । ‘बरु जेलै बस्छु तर स्वतन्त्रतासँग संझौता गर्दिनँ’ भन्दै बरु जेलै रोज्नुभयो । आफ्नो पार्टीका मुख्य नेताहरु सबै छुटिसकेपछि पनि उहाँ आफ्नै निष्ठामा एक्लै अरु २० महिना बढी जेलमा बस्नुभयो । जेलजीवनको एक्लो त्रासदी झेल्न कुन आस्थाले उहाँलाई डो¥याएको होला रु त्यो आस्थाको संरक्षणमा नेपाल स्वाधीन रहनसक्छ।

१७ साल पछि किसुनजी कहिल्यै पनि विदेशीभूमिमा गएर त्यसको सहयोगले क्रान्ति गर्ने पक्षमा हुनुभएन । क्रान्ति आफ्नै माटोबाट उठ्नुपर्छ । ‘नेपालभित्रैबाट जनतालाई जागरुक पारेर क्रान्ति गर्नुपर्छ र त्यो क्रान्ति अहिंस्रक हुनुपर्छ’ भन्ने उहाँको दृढ मान्यता थियो । यो विषयमा कांग्रेसले सशस्त्र आन्दोलन गर्दा पनि आफ्नै दलको आधिकारिक धारणामा उहाँ सहमत हुनुहुन्थेन । भारतमा क्रान्तिको जरो राखेर नेपालमा क्रान्ति सफल गर्ने कुरामा उहाँको सधै विमति रह्यो । उहाँ नेपाल मै बस्नुभयो । यही बसेर नेपाल विद्यार्थी संघको स्थापना गर्नुभयो । अनेक मुद्दाहरुमा विमति भएपनि विपि, गणेशमानजी, सुवर्णजीलाई अत्यन्त आदर गर्नुहुन्थ्यो किसुनजी । तर आफ्नो सिद्धान्त र निष्ठामा सधै अडिग रहनुभयो । जबसम्म मानिसको चेतनाले कुनै आध्यात्मिक परिपक्कता हासिल गरेको हुँदैन, तबसम्म विषम परिस्थितिमा आफ्नो सिद्धान्तमा एक्लै बस्न गा¥हो छ ।

किसुनजीमा कुनै व्यक्तिप्रति मोह र कुनै पदमा आशक्त भएको मैले कहिल्यै देखिनँ । तर सबै चिजको उहाँ आनन्द लिन जान्नुहुन्थ्यो । ओशोले बताएको कजानजाकिस्को एक मस्तमौला पात्र जोर्बाको जस्तै जीवन उहाँ बाँच्नुभयो । ओशोप्रति उहाँको अगाध श्रद्धा थियो । मेरो र उहाँको मिलनबिन्दु पनि ओशो नै हुनुहुन्थ्यो । अरुभन्दा आफूलाई विशिष्ट देखाउने भन्दा नैतिकताभन्दा माथि उठेर सकारात्मक मानवजन्य स्वच्छन्दतामा उहाँ जिउनुभयो । सुरा सुन्दरी प्रसंगमा उहाँको सहज, स्वाभाविक र इमान्दार जीवनशैली र दृष्टि थियो । जीवनले दिएका सबै उपहारहरुको उहाँ उपभोग गर्नुहुन्थ्यो । साधारणतया राजनैतिक व्यक्तिहरु लोकलाजको भयले त्यस्ता व्यवहारहरु लुकाउने गर्छन् र त्यस्ता सारा व्यवहार पर्दा पछाडि नै राख्न चाहान्छ । किसुनजीमा आफ्ना कुनै गुणदोष लुकाउने प्रवृत्ति थिएन । उहाँ जे गर्नु हुन्थ्यो, जे खानुहुन्थ्यो, पिउनु हुन्थ्यो सबैलाई देखाएरै गर्नुहुन्थ्यो र त्यसको बयान गरेरै हिँड्नुहुन्थ्यो । गान्धीजी जस्तो सत्यनिष्ठा उहाँमा म देख्छु तर गान्धीजी जस्तो जीवनका सहजवृत्तिलाई दवाउने प्रवृति उहाँमा कहिल्यै रहेन । गान्धीजीमा ‘आफ्नो दर्शन अरुले पनि मानिदिउन्’ भन्ने अत्याग्रह थियो । तर त्यो मामिलामा किसुनजी अझ प्रगतिशील, उदार र व्यवहारिक लाग्नुहुन्छ । आफ्ना पार्टीका कार्यकर्ताहरुलाई पनि आफ्ना मनोवृत्तिहरुलाई दबाउन भन्नुभएन । दीपकुमार उपाध्यायजीको एउटा संस्मरण छ, किसुनजीले एकपटक दीपकुमारजीलाई रक्सी खान भन्नुभएछ । दीपकुमारजीले ‘मैले रक्सी खाने गरेको छैन’ भन्नुभएछ । किसुनजीको ठट्टा गर्ने बानी थियो । उहाँले ठटैली भाषामा भन्नुभएछ, ‘रक्सी खादैनौं भने कहिल्यै राम्रो कांग्रेसी बन्न सक्दैनौं ।’ यसरी पनि ठट्टा गनुहुन्थ्यो उहाँ । मैले उहाँसँग संगत गर्दा उहाँ मदिरापान गर्नुहुन्थ्यो र मासांहारी हुनुहुन्थ्यो । तर कहिल्यै पनि मलाई उहाँले खाउ भनेर भन्नुभएन र राजनीतिमा लाग्न आग्रह गर्नुभएन । त्यो पनि उहाँको एउटा ठूलो विशेषता थियो, आफ्नो जीवन पद्दति अरुमाथि कहिल्यै लाद्नुहुन्थेन । अरुको बानी व्यहोराको उहाँ पूर्ण सम्मान गर्नुहुन्थ्यो ।

एकपटक प्रज्ञाप्रतिष्ठानमा ओशो तपोवनले आयोजना गरेको एक प्रहसनमा ख्यातीनाम हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रस्तुति थियो । त्यही कार्यव्रmमका प्रमुख अतिथि तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेलजी हुनुहुन्थ्यो । कार्यव्रmमको मुख्य अतिथि आफूभन्दा कनिष्ठ नेता भएको कार्यव्रmममा हामीले कार्ड दिदैं रामचन्द्रजीलाई प्रमुख अतिथि बनाएको बताउँदा ‘के फरक पर्छ र, खुब राम्रो गर्नु भएको छ’ भन्दै किसुनजी खुसीखुसी कार्यव्रmममा आउनुभयो । त्यसबेला मैले उहाँमा अहंकारको लेस पनि देखिनँ ।

सो कार्यव्रmममा उहाँकै हाउभाउको नक्कल गर्दै किसुनजीलाई नै व्यङ्ग कस्दै मह जोडी र कलाकारहरूले सबैलाई हँसाएका थिए । कुनैकुनै व्यङ्गहरु किसुनजीलाई नै पर्ने जस्ता अति कटु थिए । उहाँका वरिपरीका मानिसहरु त यो त अति भो किसुनजीलाई बोलाएर यस्तो देखाउने भन्दै रिसाए । मलाई पनि अलि संकोच लागिरहेको थियो । म किसुनजी कै छेउमा बसेको थिएँ । तर उहाँ आफू भने आफूमाथि नै कसिएका व्यङ्गवाणहरु सहज रुपमा ताली बजाउँदै हाँस्दै प्रहसनको आनन्द लिइरहनुभएको देखें । प्रहसन सिद्धिएपछि उहाँले मलाई भन्नुभयो, ‘दुबै कलाकारलाई मेरो बधाइ र धन्यवाद सुनाइदिनु होला । खुब मजा आयो ।’ त्यो उहाँले सहज र उन्मुक्त मनले भनिरहनुभएको थियो । घरमा गएर पनि कलाकारद्वयलाई फोन गर्दै र आफ्नो उत्कृष्ट नक्कल गरेकोमा धन्यवाद दिनुभएछ । उहाँको सेन्स अफ ह्युमर बढो तीक्ष्ण थियो, शालिन शब्दमा ठट्यौलीपारामा अरुलाई व्यङ्ग कस्न उहाँ माहिर हुनुहुन्थ्यो र कसैले आफूमाथि गरेको व्यङ्गपनि सहजै पचाउनु हुन्थ्यो । चिजहरुलाई सहज ग्रहण गर्ने विशिष्ट गुण उहाँमा थियो । मान अपमान, जस अपजस र द्वन्दबाट विचलित नहुने अद्भूत स्थितप्रज्ञ क्षमता थियो किसुनजीमा ।

आफ्नो प्रसंशा त सबैलाई प्रिय हुन्छ र आफ्नो आलोचना सबैलाई नराम्रो लाग्छ । यो सामान्य मनुष्यको स्वभाव हो । किसुनजीका वरिपरि प्रसंशा गर्ने मानिसहरु धेरै आउँथे । ती प्रसंशाबाट प्रभावित भएको मैले उहाँलाई कहिल्यै देखिनँ । सुन्नुहुन्थ्यो अनि ‘हो र’ भन्नुहुन्थ्यो र त्यसलाई त्यहीं उडाइदिनुहुन्थ्यो । आलोचना गर्ने मित्रहरु पनि हुन्थे । जब आलोचना बढ्थ्यो र उहाँका वरिपरिकाले भन्थे ‘आलोचनाको जवाफ त दिनुप¥यो ।’ तर उहाँ भन्नुहुन्थ्यो– ‘राणाशासनमा त केही नसहने राणाहरुले गाइजात्रामा आलोचना र हाँसोठट्टा गर्न छुट दिएका थिए भने म त प्रजातान्त्रिक नेता हुँ । मैले आलोचना गर्ने छुट दिइनँ भने कस्तो प्रजातान्त्रिक नेता म रु’ भन्दै सबैको आलोचना गर्ने अधिकारलाई उहाँ सम्मान दिनुहुन्थ्यो ।

उहा प्रधानमन्त्री भएको बेला पनि नियमित तपोवन आउनुहुन्थ्यो । उहाँलाई तपोवन खुब मनपथ्र्यो । यहाँ आएपछि सामान्य कार्यकर्तादेखि सबैको उहाँले मन जित्नुभएको थियो । सबैलाई जिस्काउनु हुन्थ्यो । सबैसँग ठट्टा गर्नुहुन्थ्यो । उहाँको नजिक बस्दा यस्तो लाग्थेन कि हामी एक महान नेता र देशको प्रधानमन्त्रीको समीपमा बसिरहेका छौं । दिउँसोको भोजनपछि उहाँको सुत्ने बानी थियो । मैले आफ्नो बेडमै आराम गर्न आग्रह गरें । उहाँले करिब ४० मिनेट जति विश्राम गर्नुभयो र उठेर बाहिर आउनुभयो । मभित्र कोठामा पस्दा मलाई आश्चर्य लाग्यो । उहाँले तन्ना तानेर मिलाएको, सिरक पट्याएर छेउमा राखेको, सिरानी सप्प मिलाएर बेड चटक्क पारेर आउनुभएको रहेछ । एक प्रधानमन्त्रीको लागि त्यो गर्न आवश्यक थिएन । हामी नै गर्न सक्थ्यौं । तर यो उहाँको विशेषता थियो । उहाँ स्वास्थ्यले दिएसम्म आफ्नो जुत्ताको पालिस आफैं गर्नुहुन्थ्यो । आफुले लगाएको धोती आफै धुनुहुन्थ्यो ।

किसुनजीको व्यक्तित्व एक विलक्षण समन्वयकारी थियो । विभिन्न मतमतान्तरका व्यक्तिहरु पनि उहाँको नजिक आएपछि उहाँको व्यक्तित्व, इमान्दारिता र पारदर्शिताका कारणले प्रभावित हुन्थे । विवाद परेका बेला सबै पक्षले किसुनजीको एक सौम्य समन्वयकारी भूमिका पाउँथे, त्यो भूमिकामा सबैले आफ्नो जीत भएको महसुस गर्थे । ४७ सालको संविधान बन्दाखेरि अहिलेको संविधान बनाउने भन्दापनि जटिल परिस्थिति थियो । सेना दरबारको थियो । प्रहरीसँगै निजामती कर्मचारी पनि राजाप्रति नै वफादार थिए । प्रशासनमा एक किसिमको मनोवैज्ञानिक र शासकीय रुपान्तरणको खाँचो थियो । सैन्यवलको शक्तिले सुसज्जित राजदरबार पनि आफ्नो सकृय भूमिका खोजिरहेको थियो । त्यस्ता राजसंस्थाबाट सार्वभौमसत्ता खोसेर जनतालाई दिनुथियो । राजावादीहरु पनि मन्त्रिमण्डलमा थिए । मानव अधिकारवादी, वामपन्थी विचारका पनि त्यही मन्त्रीमण्डलमा थिए । विभिन्न सिद्धान्त लिएर हिँडेकाहरुलाई सम्हालेर एक वर्षभित्र संविधान बनाउने कठिन कार्यको जिम्मा थियो किसुनजीको काँधमा । त्यसका लागि एक सामथ्र्यवान् र सबैलाई मिलाएर लैजाने गुण भएको व्यक्ति चाहिन्थ्यो जसको अगाडि विभिन्न दलका नेताहरु विवादित विषयहरुमा केही छोड्न तयार हुन र आमसहमति गरी साझा निर्णयमा पुग्न सकुन् । त्यस्तो व्यक्तिको खाँचो किसुनजीले पुरा गर्नुभयो । अद्भूत रुपले किसुनजीले त्यो भूमिका प्रभावकारी रुपले निभाउनुभयो । त्यसैले ४७ सालको संविधान निर्धारित समयमा आयो ।

किसुनजीले नयाँ संविधान बनाई १३ महिनामा निष्पक्ष चुनाव गराई बहुमत प्राप्त दलको सरकारलाई सत्ता सुम्पिनुभयो । यसलाई सबैले ऐतिहासिक उपलब्धि मानेका छन् । अहिले त्यस्तै व्यक्तिको खोजी नेपालले गरिरहेको छ । जुन व्यक्तिले मतमतान्तरलाई समन गरी एक साझा समन्वयकारी भूमिका निभाउन सकोस् र दलको क्षुद्र घेराबाट मुक्त भई राजनीति सबैको भलो र सम्बृद्धिका लागि केन्द्रित भएको महसूस जनतालाई गराउन सकोस् । यो परिप्रक्षमा आज किसुनजीको अभाव अझ बढी खटकिएको छ ।

उहाँले मलाई सबैभन्दा बढी प्रभावित गरेको उहाँको आध्यात्मिक पक्षले हो। उहाँ पूर्णत ईश्वरमा विश्वास गर्ने आस्तिक व्यक्ति हुनुहुन्थ्यो र हरेक कार्यलाई ईश्वरकै इच्छा हो भनी सहर्ष स्वीकार गर्नुहुन्थ्यो । उहाँमा कुनै पनि कुराको गुनासो थिएन । उहाँमा एक गहन आध्यात्मिक परिपक्वता थियो । जब उहाँ ४८ सालको चुनाव हार्नुभयो, गणेशमानजीलगायतका अन्य नेताहरुले ‘पार्टी भित्रैबाट अन्तर्घात र षड्यन्त्र भएको हो र यसमा भागीदारहरुलाई पार्टी अध्यक्षको हैसियतले तपाईंले अनुशासनको कारवाही गर्नुपर्छ’ भनी दवाव दिंदा उहाँले कार्यसमितिमा दिनुभएको वक्तव्य उहाँको व्यक्तित्वको महानता र दार्शनिक पक्ष झल्काउने एक इतिहासिक अभिव्यक्ति हो । उहाँले त्यो बेला भन्नभयो – ‘चुनावको यो पराजयको लागि म नै दोषी छु । मेरा केही कमजोरी होलान् । बारम्बार चुनाव हार्नु नै मेरो नियति नै होला । यदि पार्टीका केही मित्रले अन्तर्घात गरे भने त्यसको जिम्मेवारी पनि मेरै हो । मैले आफ्ना कार्यकर्ता र समग्र पार्टीलाई अनुशासनमा राख्न सकिनँ । उनीहरुले पार्टी विरोधी गतिविधि गरे भने त्यसको जिम्मेवारी पनि पार्टी अध्यक्षको नाताले मेरै हो किनभने मैले आफ्ना कार्यकर्ताहरुलाई उचित शिक्षण र अनुशासन सिकाउन सकिनँ । म यसको दोषभाग कसैलाई दिन्नँ । यस पराजयको सारा दोष र जिम्मेवारी आफूमाथि नै लिन्छु।’

मनुष्यताको इतिहासमा कुनै राजनैतिक व्यक्तिले यस्तो परिस्थितिमा दिएको यो अनुपम अभिव्यक्ति हो । सामान्यता राजनेताहरूमा आफ्नो असफलताको लागि विरोधी शक्तिहरुलाई दोष दिने प्रवृत्ति हुन्छ । आजसम्म अरु कुनै राजनेताले यस्तो व्यवहार गरेको अर्को उदाहरण मैले भेटेको छैन । जबसम्म राजनेताहरुले यस्तो उदार व्यवहार गर्न सिक्दैनन, तबसम्म सच्चा प्रजातन्त्र आउन सक्दैन, राजनीतिमा स्वार्थ र अहंकारको ताण्डव चलिनैरहन्छ । किसुनजीको यस्तो उदार व्यवहार नभएको भए त्यही दिन कांग्रेस फुट्थ्यो । पार्टीलाई उहाँले अन्तसम्म एक ढिक्का राख्ने प्रयास गर्नुभयो । उहाँ भन्नुहुन्थ्यो, ‘संगठनलाई बनाउनभन्दा पनि संगठनलाई संगठित राख्नु सबै भन्दा कठिन काम हो । त्यसमा व्यक्तिगत त्याग नभइकन संभव हुँदैन । त्यसका लागि मैले जे त्याग गर्न परेपनि म त्याग गर्छु तर पार्टीलाई फुटन दिन्नँ।’

उहाँ प्रधानमन्त्री हुँदा एक नागरिकले पुग्न सक्ने सर्वोच्च पदमा पुग्नुभयो। ‘तपाईंको क्रान्ति सफल भयो । बहुदलीय व्यवस्था आयो । तपाईं त सन्तुष्ट हुनुभएको होला’ भनी किसुनजीलाई सोधिएको रहेछ। किसुनजीको जवाफ छ, ‘वास्तवमा मेरो जीवनको लक्ष्य प्रधानमन्त्री हुनु होइन, मेरो जीवनको लक्ष्य वास्तवमा मुक्ति हो र मुक्तिमा स्वतन्त्रता पनि आउँछ, त्यो स्वतन्त्रताको सङ्घर्ष गर्दा यो पद आइपरेको मात्र हो ।’ दुनियाको कुनै राजनेताको यो समकक्षको वक्तव्य म देख्दिनँ । यो एकै वक्तव्य मात्रैले पनि किसुनजीलाई संसारका सबभन्दा ठूलो आध्यात्मिक राजनेताको उचाइमा पु¥याइदिन्छ ।

पछिल्ला दिनमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका कुरा सबैतिर सर्वमान्य भइसकेका थिए । बदलिएको परिस्थितिका बारेमा कुरा गर्न दीपकुमार उपाध्यायजी किसुनजी कहाँ जानुभएको रहेछ । किसुनजीले आफ्नो सैद्धान्तिक निष्ठा व्यक्त गर्दै भन्नभएछ, ‘हेर तिमीहरुलाई मेरा पछाडि लाग्न जरुरी छैन । तिमीहरुको राजनैतिक भविष्य छ त्यसलाई हेर तर म यो देशलाई एक राख्ने, यो देशलाई खण्डित भएको देख्न सक्दिनँ । सारा राष्ट्रले यसको विरोध गरेपनि म मान्नेवाला छैन र मेरो मूल्य र मान्यतामा मलाई तिमीले एक्लै छोडिदेऊ । मेरो यो मान्यताको पछि कोही लाग्नुपर्छ भन्ने पनि छैन । तिमीहरु आफ्नो ढंगले राजनीति गर । मेरो मान्यतालाई फेर्न कुनै दवाव नदेऊ । यसको पछाडि मेरो कुनै राजनैतिक महत्वाकांक्षा पनि छैन । यो मेरो आफ्नो समझ हो । लेट मि लिव माई अन्डरस्ट्यान्डिङ्ग अलोन ।’ रविन्द्रनाथ टैगोरले लेख्नुभएको छ, ‘यदि तिम्रो कुरा कसैले सुन्दैन भने तिमी एक्लै हिँड ।’ मैले यो पदको मर्म ठ्याक्कै लागू भएको किसुनजी मै देखें । उहाँ आफ्नो मान्यतामा एक्लै हिड्ने साहस राख्नुहुन्थ्यो ।

किसुनजीका केही उद्गार

मानव स्वाधीनताको प्रश्न एक सार्वकालिक प्रश्न र समस्या हो। यसका अन्त्यहीन तन्तुहरू पृथ्वीदेखि अन्तरीक्षसम्म फिँजिएका छन्, जसको विभिन्न व्याख्या ज्ञानीहरूले गरेका छन्।

साच्चिकै सेन्स अफ ह्युमर भएको मानिस सामन्ती हुनै सक्दैन।

मेरो जीवन मबाट होइन परमात्माबाट प्रेरित र निर्देशित छ। खाली कमी र कमजोरीमात्र मेरा हुन्।

चलाख राजनीतिज्ञले धेरैजसो क्षणिक सफलता प्राप्त गर्न सक्छ, तर दिगोरूपमा सकारात्मक परिवर्तन ल्याउन सक्दैन।

सबै प्रकारको शोषणबाट मानवमात्रको मुक्ति उहाँको लक्ष्य थियो र उहालाई यो स्पष्ट थियो कि स्वयंको रूपान्तरण र मुक्तिबिना यो सम्भव छैन। बाँडेगाउको उहाँ सुत्ने सानो कोठामा आज पनि त्यही निष्ठा र इमानदारीको सुगन्ध छ। त्यो सन्त पुरुषको अचल निष्ठा र ईश्वरप्रतिको निश्छल श्रद्धालाई सम्झिँदा मात्र पनि हाम्रो आँखा सजल हुन्छ, हृदय पवित्र हुन्छ।

र अन्त्यमा किसुनजीलाई प्रा डा राजेश गौतमले सोध्नुभएको ‘तपाईंलाई असन्तुष्टि भन्ने कुरा आउँदैन रु’ भन्ने प्रश्नमा किसुनजीको उत्तर उद्घृत गर्न चाहान्छु । ‘मैले राजनीतिलाई स्पिरिच्यूएल प्राक्टिसको रुपमा लिएको छु । त्यो प्राक्टिसको दरमियान सफलताको जाँच मैले मात्र गर्न सक्छु, तपाईंले गर्न सक्नुहुन्न । तपाईंले त खाली पद मात्र देख्नुहुन्छ । मेरो स्वतन्त्रताको संघर्ष जुन हो, कहाँ गएर मिल्न जान्छ भने मानिसको मुक्ति अर्थात् निर्वाणसँग । त्यो निर्वाण पनि कस्तो भने, त्यो पुनर्जन्मको अभाव हैन । त्यो निर्वाण यही जन्ममा, जसलाई बुद्धत्व भन्दछन् त्यसलाई प्राप्त गर्न सक्नुभयो भने त्यही नै हो त्यसको चरम परिणाम, चरम परिणति र चरम प्राप्ति । त्यसकारण मलाई असन्तोष हुने कुरै भएन । तर, हुन्छ बीच–बीचमा रिस उठ्छ । मैले आफलाई सम्झाउनुपर्छ । ’ परम सन्तुष्ट यी राजनैतिक योगीका यस्ता स्मरणहरु सधै जीवन्त रहुन् र विषम परिस्थितिहरुमा हामीलाई यी प्रसङगहरुले शक्ति र साहस दिइरहुन् ।

(नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९६ औं जन्मजयन्ती आज मनाइँदै छ।)

‘अर्काइभबाट साभार’