काठमाडौँ। काम चलाउ प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि नेकपा विभाजन भएको छ।
पुस पाँच गते संसद विघटन गरेपनि ओलीले ७ पुसमा नेकपा पुनर्गठन गरेको घोषणा गरेका थिए। कार्यकारी अध्यक्ष प्रचण्ड नेतृत्वको समूहको केन्द्रीय कमिटी बैठकले नेकपा अध्यक्षबाट ओलीलाई हटाएर उनको स्थानमा माधव नेपाललाई चुनेको छ।
प्रचण्ड पक्षको अध्यक्षमा नेपाललाई चयन गरेपछि उनको हैसिय के हुने भन्ने विषयले स्थान पाएको छ। नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ओलीलाई अध्यक्षबाट निस्कासन गरिएको र वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाउने निर्णय भएको बताए।
नेता शाहीका अनुसार प्रचण्ड-नेपालको हैसियत समान रहने छ। त्यस्तै माधव नेपाल निकट केन्द्रीय सदस्य विष्णु रिजालले पनि दुवैको बराबर हैसियत रहने जानकारी दिएका छन्। प्रचण्डले यसअघि कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्दै आएका थिए भने नेपाल पार्टीको वरिष्ठ नेताको हैसियतमा थिए।