ओलीमाथि कारबाही गरिएको कुरा निर्वाचन आयोगलाई जानकारी



काठमाडौँ। नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षले संसद विघटनपछिको विकसित राजनीतिक घट्नाक्रमबारे निर्वाचन आयोगलाई जानकारी गराएको छ।

प्रचण्ड-माधव पक्षले संसद विघटनपछि भएका सवै घट्नाक्रमबारे अयोगलाई जानकारी गराएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन्। उनले जानकारीपत्रमा के के छ भन्ने कुरा आफूले सवै अध्ययन गरिनसकेको भन्दै पछिल्ला घट्नाक्रमहरु समेटिएको हुनसक्ने जानकारी दिएका हुन्।

स्रोतका अनुसार प्रचण्ड–नेपाल पक्षले ओलीलाई पार्टीले कार्यवाही गर्ने निर्णय गरेको जानकारी गराएको छ। स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको अध्यक्ष प्रचण्डले जानकारी गराएको निर्वाचन आयोग स्रोतको भनाइ छ।

आइतबार बसेको स्थायी कमिटीले अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ र सात गते बस्ने केन्द्रीय कमिटीको बैठकले त्यसलाई अनुमोदन गर्नेछ। आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए। सोही आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन भएको घोषणा गरेकी थिइन्।