संसद विघटन प्रचण्ड पक्षको असहयोगको परिणाम हो: ओली



काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई पार्टीभित्रैबाट असहयोग भएकाले अहिलेको अवस्था आएको दावी गरेका छन्।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकट सांसदहरुको भेलामा विभिन्न बहानामा सरकारलाई झुलाउने काम भएकाले ताजा जनादेश प्राप्त गर्न नयाँ निर्वाचनमा जानु परेको बताएका छन्।

त्यस्तै ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतामा सिन्कोसम्म नभाचेका कारण यो अवस्थामा जानु परेको आरोप लगाएका छन्।  ओलीले पार्टीभित्रैबाट भएको असहयोग र सरकारले गरेका राम्रा कामहरुलाई लिएर जनतामाझ जान भेलामा सहभागी सांसदहरुलाई आग्रह गरेका छन्।

त्यस्तै भेलालाई सम्बोधन गर्दै उद्योगमन्त्री लेखराज भट्टराईले ओलीको नेतृत्वमा अब उदाहरणीय विश्व कम्युनिष्ट आन्दोलन अगाडि बढ्ने बताएका थिए। भेलालाई पार्टीका महासचिव विष्णु पौडेलले पनि सम्बोधन गरेका थिए।

सोमबार बालुवाटारमा प्रधानमन्त्री ओलीले बोलाएको भेलामा गृहमन्त्री रामबहादुर थापा, सांसदहरु रघुवीर महासेठ, कृष्णप्रसाद दाहाललगायत भने अनुपस्थित रहेका थिए। गृहमन्त्री रामबहादुर थापा भने भेलामा सहभागी भएका छैनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएकोमा आपत्ति जनाउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पक्षका ७ मन्त्रीले आइतबार राजीनामा दिएका थिए। पूर्वमाओवादी खेमाका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन्।