बैशाखमा चुनाव हुँदैन, देश अँध्यारो सुरुङ्गमा फस्यो: डा. भट्टराई



काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले आगामी बैशाखमा चुनाव नहुने दाबी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक तवरले संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेको सन्दर्भमा डा.भट्टराईले दाबी गरेका हुन्।

उनले सामाजिक सन्जाल ट्वीटरमा लेखेका छन्, ‘बैशाखमा चुनाव हुनेवाला छैन। देश अँध्यारो सुरुङ्गमा फसिसक्यो। उनले संवैधानिक÷कानूनी उपचारको झिनो आशा भए पनि भर गर्न नसकिने बताएका छन्। बरु दिगो उपचार राजनीतिक नै भएको भट्टराईको भनाइ छ। संगठित/एकीकृत/सशक्त जनप्रतिरोध र प्रतिनिधिसभाको बैठक नै दिगो राजनीतिक उपचार भएको भट्टराईको भनाइ छ।

संविधानमा बहुमतप्राप्त प्रधानमन्त्रीले मध्यावधि निर्वाचनमा जाने कुनै त्यस्तो प्रावधान नै छैन। संविधानको धारा ७६ को उपधारा ७ मा ‘संसद् विघटन’ भन्ने पदावली उल्लेख भए पनि वर्तमान सन्दर्भ त्यस्तो होइन । यो प्रावधानबमोजिम संसद् विघटन गर्न पाइने सर्त अलग्गै छ । संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा बहुमतप्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्छ । कुनै दलले बहुमत नपाए दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्छ।

कुनै पनि दलले स्पष्ट बहुमत नपाए वा प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र दुई वा दुईभन्दा बढी दल मिल्ने अवस्था पनि नभए वा त्यसरी बनेको सरकारले विश्वासको मत नपाए राष्ट्रपतिले अल्पमतको सरकार बनाउने व्यवस्था यसमा छ ।

त्यसरी बन्ने सरकारले पनि ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकेमा वा संयुक्त सरकार बन्न सक्ने अवस्था पनि नदेखिएमा वा त्यसरी बनेको सरकारले पनि विश्वासको मत नपाएमा मात्रै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी मिति घोषणा गर्न सक्ने व्यवस्था संविधानमा स्पष्टै उल्लेख छ।