एकै चरणमा निर्वाचन गर्न आयोगको सुझाव



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकै चरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले सुझाव दिएको छ।

प्रतिनिधि सभा विघटन गरेर बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओलीले आइतबार साँझ निर्वाचन आयोगका पदाधिकारीसँग चुनावका बारेमा छलफल गरेका थिए।

छलफलमा दुई चरणमा चुनाव गर्दा खर्च धेरै लाग्ने भएकोले एकै चरणमा निर्वाचन गर्न आयोगले सुझाव दिएको हो। निर्वाचन आयोगले चैतसम्म निर्वाचनको तयारी गर्न पर्याप्त समय भएकोले एकै चरणमा सम्पन्न गर्न सकिने बिफ्रङ गरेको थियो। प्रधानमन्त्रीसँगको छलफलका लागि आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरु नरेन्द्र दाहाल र ईश्वरी पौडेल बालुवाटार पुगेका थिए।

त्यस्तै प्रधानमन्त्री ओलीले नेपालका चारवटै सुरक्षा अंगका प्रमुखहरुलाई आगामी निर्वाचन सफलतपूर्वक सम्पन्न गर्न आवश्यक तयारीमा जुट्न निर्देशन दिएका छन्। आइतबार साँझ बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन्।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् विघटन गर्दै निर्वाचनको घोषणा गरेकी छन्। ताजा जनादेशका लागि २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरिएको छ।

बालुवाटार स्रोतका अनुसार ओलीले सुरक्षा निकायका प्रमुखहरुसँग देशको सुरक्षा अवस्थाको बारेमा ब्रिफिङ पनि लिएका थिए। बैठकमा प्रधान सेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश उपस्थित थिए।