राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद विघटन



काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी छिन्। सरकारको सिफारिसमा राष्ट्रपतिले संसद घोषणा गरेकी हुन्।

आईतबार बिहान प्रधानमन्त्ती केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष पेश गरेका थिए। उनले मन्त्रिपरिषद्को सिफारिस बमोजिम ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचनसमेत तोकेकी छन्।

संसद विघटनको प्रस्तावको मन्त्रीहरुबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुलेसमेत संविधानविपरित भएको भन्दै विरोध जनाएका थिए। तर, राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरेकी हुन्।

‘मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ’, राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।