काठमाडौँ। संसद विघटनको सिफारिसपछि सुरक्षा निकायहरू ‘हाई अलर्ट’मा राखिएका छन्। फिल्डमा प्रमुख रुपमा खटिने नेपाल प्रहरीलाई देशव्यापी रुपमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिइएको छ।
प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षत्रीले आकस्मिक रुपमा सुरक्षा सतर्कता बढाउन सातवटै प्रदेशका प्रमुखहरूलाई निर्देशन दिएका हुन्। ‘ठूला राजनीतिक घटना हुँदा स्वाभाविक रुपमै सुरक्षा सतर्कता बढाउन निर्देशन दिइएको हुन्छ, यस्तै निर्देशन गएको छ,’ प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले भने।
मुख्यालयले यस्तो बेला सडकमा आन्दोलन हुने, स्थिति भड्किने र त्यसले कानुनविपरीतका क्रियाकलाप निम्त्याउन सक्ने भएकाले नियन्त्रण गर्न निर्देशन दिएको बताइएको छ। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन्। संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन्।
२९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ। यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटनको सिफारिस गरेपछि त्यसको सर्वत्र निन्दा भएको छ। संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेका हुन्।