जुम्ला। नेपाली कांग्रेसका युवा नेता लक्ष्मण शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको प्रस्ताव राष्ट्रपतिले प्रमाणीकरण गर्न नमिल्ने बताएका छन्।
संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर आइतबार केपी ओलीले संसद विघटनको प्रस्ताव पेश गरेपछि राजनीतिक सरगर्मी बढेको छ। प्रधानमन्त्रीको कदमलाई लिएर चौतर्फि चर्को विरोध र आलोचना भइरहेको छ।
नेपाली कांग्रेस जुम्लाका संगठन विभाग प्रमुखसमेत रहेका नेता शाहीले नेकपालाई जनताले दिएको मतको बैधतासमेत सकिएको जिकिर गरेका छन्। सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘संविधान निर्माणगर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ। प्रधानमन्त्रीले आबेग र लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ। यसको संवैधानिक व्याख्या हुन्छ नै। तर, जे ब्याख्या भएपनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससँगै सकिएको छ।’
नेता शाहीले प्रधानमन्त्रीको कदमले देश, जनता र लोकतन्त्रमाथि प्रश्न उठाएको भन्दै घोर भत्सर्ना गरेका छन्। उनले अगाडि लेखेका छन्, ‘अहिलेको संविधान अनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन र राष्ट्रपतिले यसलाई स्वीकार गर्न हुँदैन। यो फिर्ता गर्नु पर्दछ। मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकटतर्फ धकेल्ने गैरलोकतान्त्रिक कदमको घोर भत्सर्ना गर्दछु।’