काठमाडौँ। गत असोजको दोस्रो सातादेखि संसदको विशेष अधिवेशन बोलाउनुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल कांग्रेसले अब संसदको नियमित बैठक बोलाउनुपर्ने बताएको छ।
शुक्रबार बसेको कांग्रेस कार्यसमिति बैठकले सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश तत्काल फिर्ता लिँदै संसद् अधिवेशन बोलाउन माग गरेको थियो। त्यस्तै शनिबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जसपासँगको भेटघाटमा पनि संसदको विशेष अधिवेशन बोलाउने समय सकिएकाले अब हिउँदे अधिवेशन बोलाउनुपर्ने मागका साथ अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको हो।
संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमले भनिन्, ‘अब संविधानले व्यवस्था गरे अनुसारकै संसदको हिउँदे अधिवेशन बोलाउनुपर्छ। विशेष अधिवेशन बोलाउने समय सकिसक्यो। संविधानले नै एउटा अधिवेशनपछि अर्को अधिवेशनका लागि छ महिनाभन्दा बढी खाली समय राख्न नहुने परिकल्पना गरेकाले अब तुरुन्त संसद बैठक बोलाउनुपर्ने हुन्छ।’
संसदले नै अस्वीकार गरिसकेको विषय फेरि सरकारले अध्यादेशका रूपमा ल्याउनु संविधानले दिएको अधिकारमाथि नै हस्तक्षेप गर्नु रहेको उनले बताइन्। संविधानभन्दा विपरीत आफू स्वेच्छाचारी ढङ्गले हिँड्न खोज्नु, संवैधानिक अङ्गहरुलाई नियन्त्रण गर्ने बदनियतपूर्ण ढङ्गले सरकारले काम गरेकाले यसलाई स्वीकार गर्न नसक्ने उनको भनाइ छ।
उनले भनिन्, ‘पार्टीको आन्तरिक द्वन्द्वका कारण संविधानले दिएको अधिकारमाथि हस्तक्षेप स्वीकार्य हुन सक्दैन। पार्टीको आन्तरिक द्वन्द्वले संसदलाई बन्दक बनाउनु हुँदैन। जनताको अधिकारको विषय जोडिएकाले यसलाई सरकारले गम्भीर रूपमा लिनुपर्छ।’