उखु किसानका समस्या समाधान गर: रन्जित तामाङ



काठमाडौँ। अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले गत आईतबारदेखि राजधानीको माइतीघरमा आन्दोलनरत उखु किसानहरुको माग तत्काल सम्बोधन गर्न सरकालाई अनुरोध गरेका छन्।

शुक्रबार एक विज्ञप्ति जारी गरेर सहसंयोजक तामाङले उखु किसानको आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै उखु किसानहरुलाई राज्यले नै संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।

जारी विज्ञप्तिमा भनिएको छ, ‘अनेक दुःख र कष्ट झेलेर उत्पादन गरी विक्री गरेको उखुको मुल्य नपाएर विचल्लीमा परेका उखु किसानहरुद्वारा काठमाडौंको माइतीघरमा संचालित न्यायपुर्ण आन्दोलनमा हाम्रो संगठन अनेरास्ववियू पुर्ण समर्थन र ऐक्यबद्धता ब्यक्त गर्दछ। वर्षेनी चिनी आयातका नाममा करोडौं रकम मुलुक बाहिर जानवाट रोक्न महत्त्वपूर्ण योगदान गरिरहेका स्वदेशी उखु किसानहरुलाई स्वयं राज्यले नै संरक्षण, प्रोत्साहन र प्रवर्द्धन गर्नु पर्ने हो। तर, उल्टै आफूले विक्री गरेको उखुको मूल्यसमेत नपाएर उखु किसानहरु सडक सङ्घर्षमा उत्रिनुपर्ने स्थिति अत्यन्तै खेदजनक छ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘मंसिर पुषको कठाङ्ग्रिंदो जाडोमा टाढादेखि काठमाडौं आएरलगातारको सडक आन्दोलनमा उत्रिनु उखु किसानहरूको कुनै रहर हैन। मिल मालिकवाट वर्षौंदेखि पैसा नपाएका उखु किसानहरु गत वर्ष आन्दोलनमा उत्रिएपछि सरकारसँग सहमति भएको थियो। तर, सहमतिलाई रद्धिको टोकरीमा मिल्काइएपछि यस वर्ष किसानहरु फेरी आन्दोलनमा उत्रिन वाध्य भएका छन्।’

६ दिनसम्म पनि उखु किसानका मागहरु सम्बोधन नगरेको भन्दै तामाङले सरकारको आलोचनासमेत गरेका छन्। ‘यतिका दिन वितिसक्दा पनि सरकारले अझै ठोस्, सार्थक, परिणाममुखी वार्ता र समाधान निकाल्ने प्रयत्न गरेको देखिँदैन। यसर्थ उखु किसानहरूको सम्पुर्ण मागहरु तत्काल पूरा गर्न, गराउन र उखुको भुक्तानीसम्बन्धी समस्याको दीर्घकालिन समाधान खोज्न नेपाल सरकार र अन्य सम्वद्ध निकायलाई जोडदार माग गर्दछौं, ‘विज्ञप्तिमा भनिएको छ’