सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको सुर्खेत विमानस्थललाई रात्रीकालिन उडान भर्ने गरी स्तरोन्नति गरिने भएको छ।
प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा पुष २ गते सुर्खेत विमानस्थल विस्तार तथा स्तरोन्नतिका सम्बन्धमा बसेको वैठकले उक्त निर्णय गरेको हो।
त्यस्तै विमानस्थल विस्तारका लागि मुआव्जा वितरणमा लाग्ने कुल लागतको ५० प्रतिशत रकम कर्णाली प्रदेश सरकारले व्यहोर्ने र ५ प्रतिशत लागत रकम वीरेन्द्रनगर नगरपालिकाले व्यहोर्ने भएको छ।
बुधबार बसेको बैठकले गरेका निर्णयहरु यस प्रकार छन्ः
१ सुर्खेत विमानस्थललाई (एप्रोज लाईट) सुविधा सहितको विमानस्थलका रुपमा विकास गर्ने दीर्घकालीन सोचसहित हाललाई १५५५ मीटरको धावनमार्ग र रात्रीकालिन उडान भर्न सकिने विमानस्थलको रूपमा विकास एवं विस्तार गर्ने ।
२.विमानस्थल विस्तारका लागि नेपाल सरकारले तोकेका प्रारम्भिक अधिकारीले प्रस्तावित जग्गा अधिग्रहण क्षेत्रको जग्गाको कित्ता विवरण (क्षेत्रफल र तीन पुस्ते) यथासिघ्र तयार गरी जग्गा रोक्का प्रकृया अघि बढाउने।
३.सुर्खेत विमानस्थल विस्तार एवं स्त्तरोन्नतिका क्रममा आउनसक्ने विविध समस्या सामाधान गर्न कर्णाली प्रदेश सरकारले सर्वदलीय एवं सर्वपक्षिय समिति गठन गर्ने।
४.जग्गा प्राप्ति प्रकृया सिघ्र अघि बढाउन प्रमुख जिल्ला अधिकारीले ३ दिन भित्र मुल्याँकन समितिको वैठक आव्हान गरी काम अघि बढाउने।
५. विमानस्थल विस्तारका लागि मुआव्जा वितरणमा लाग्ने कुल लागतको ५० प्रतिशत रकम कर्णाली प्रदेश सरकारले व्यहोर्ने सहमति भएको छ। उक्त रकममध्येको ५ प्रतिशत लागत रकम वीरेन्द्रनगर नगरपालिकाले व्यहोर्ने निर्णय भयो।