काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ५ बजे संवैधानिक परिषदको बैठक बोलाएका छन्। त्यस्तै साँझै ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा बस्ने बैठकमा अध्यादेश खारेजीलगायतका एजेण्डामा छलफल हुने एक मन्त्रीले जानकारी दिए। सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विवादमा परेपछि बुधबार नेकपा अध्यक्षसमेत प्रधानमन्त्री ओलीले फिर्ता लिने सहमति जनाएका थिए।
सो अध्यादेश खारेजीका लागि अर्को अध्यादेश जारी गर्नुपर्ने प्रावधान अनुसार मन्त्रिपरिषद् बैठकले सोबारे निर्णय गर्न लागेको बताइएको छ। बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले सो अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन समेत दिएको थियो। स्थायी कमिटी बैठक अघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री ओलीले सो अध्यादेश फिर्ता गर्ने सहमति जनाएका थिए।
ओलीले संवैधानिक परिषद् बैठक बोलाएपछि नेकपामा तरंग
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुन तरंग पैदा भएको छ। नेकपा स्थायी समिति बैठकले सरकारले मंगलबार ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गरेपनि सो अध्यादेश फिर्ता हुनुअघि नै बैठक बोलाइएपछि तरंग उत्पन्न भएको हो।
अध्यादेश फिर्ता लिनलाई मन्त्रिपरिषद् बैठक बसेर अर्को अध्यादेश जारी गर्नुपर्ने हुन्छ। त्यसका लागि बिहीबार साँझको लागि मन्त्रिपरिषद् बैठक बोलाइएपनि त्यसअघि नै ओलीले संवैधानिक परिषद् बैठक बोलाएपछि नेकपामा संशय पैदा भएको हो।
यसैबीच ओलीले परिषद् बैठक बोलाएपछि नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड ओलीलाई भेट्न बालुवाटार जाँदैछन्। उनले ओलीले बैठक बोलाउनुको कारण र अध्यादेश फिर्ताका विषयमा थप छलफल गर्ने बुझिएको छ।