संसद अधिवेशनको मागसहित भीम रावल शीतल निवासमा


काठमाडौँ। विषेश संसद अधिवेशनको माग गर्दै नेकपाका दुई जना नेता राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्।

संसद बैठक आह्वानका लागि अनुरोध गर्न हस्ताक्षरसहित स्थायी समिति सदस्य तथा सांसदहरु भीम रावल र पम्फा भुसाल शीतल निवास पुगेको हुन्। उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर संसदको विषेश अधिवेशनको माग गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको भन्दै चर्को विरोध हुँदै आएको छ। यही विवादका कारण स्थायी समिति बैठक समेत प्रभावित भएको र संसद बैठकको विकल्प नभएको निष्कर्ष निकाल्दै नेकपाको तर्फबाट रावल र भुसाल शीतल निवास पुगेका हुन्।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले मंगलबार जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा समेत रिट दायर भएको छ।