काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनु पर्ने बताएका छन्।
जनता समाजवादी पार्टीका संघीय अध्यक्षसमेत रहेका डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेर प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीले संविधान र लोकतन्त्रमाथि गम्भीर खेलवाड गरिरहेको आरोप लगाउँदै संसद अधिवेशन बोलाएर महाअभियोग लगाउनु पर्ने उल्लेख गरेका हुन्।
ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि चौतर्फी विरोध भइरहेको छ। सत्ताधारी नेकपा र विपक्षी कांग्रेससहितका दलले अध्यादेश ल्याउने ओली तथा त्यसलाई स्वीकृत गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरिरहेका छन्।
तर डा। भट्टराईले भने ओली र भण्डारीको कदम संविधान विरोधी रहेकाले वक्तव्यवाजी वा गनगन मात्रै नगरेर संसद अधिवेशन बोलाई महाअभियोग लगाउनु पर्ने उल्लेख गरेका छन्।
उनले ट्वीटमा लेखेका छन्, ‘महाभारतका दुर्योधनहरूले द्रौपदीको चीरहरण गरिरहदा भीष्महरू मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहॅदा सत्तापक्षभित्रका र विपक्षका नेताहरू वैठक र वक्तब्यवाजी र गनगन गरेर मात्र बस्ने हो कि बेलैमा प्रम र रापका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेशन र महाभियोग तर्फ लाग्ने हो?’