काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अपरान्ह पाँच बजे बोलाएको संवैधानिक परिषद्को बैठकमा प्रमुखप्रतिपक्षि दलका नेता शेरबहादुर देउवा नजाने भएका छन्।
सरकारले बहुमत सदस्यको उपस्थितिमै संवैधानिक परिषदको बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि कांग्रेस सभापति देउवा बैठकमा नजाने भएका हुन् । देउवाका स्वकीय सचिव भानु देउवाले सभापति देउवमा मंगलबार पाँच बजेको बैठकमा नजाने पुष्टि गरेका छन्।
मंगलबार बिहना ९ बजे बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिका कारण परिषद बैठक स्थगित भएको थियो। त्यसपछि प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका थिए।
बैठक लगतै संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनको दफा ६ को उपदफा ३ लाई संशोधन गर्ने गरी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन्। मन्त्रिपरिषद बैठकमा अध्यादेशबारे कुनै छलफल नै नभएको एक मन्त्रीले जानकारी दिए।
प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ। अध्यादेश जारी भएपछि संवैधानिक परिषदका बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्नेछ।
यसअघि परिषद अध्यक्ष र कम्तीमा ४ जना सदस्य उपस्थित भएमात्र बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था थियो। परिषदका सदस्यमध्ये हाल उपसभामुख पद रिक्त छ। यो अवस्थामा बाँकी सबै सदस्य उपस्थित भएमात्र बैठकका लागि गणपूरक संख्या पुग्ने थियो।