तस्बिर: प्रदिप बोहरा
काठमाडौँ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साढे तीन दशकदेखि निर्माणाधिन अवस्थामा रहेको सुनथराली विमानस्थलको निरिक्षण तथा अनुगमन गरेका छन्।
सोमबार ०४२ सालदेखि निमार्णाधिन अवस्थामा रहेको उक्त विमानस्थलको निरिक्षण गरेका मुख्यमन्त्री शाहीले गत बर्खायाममा बाढी पहिरोमा परेका पीडित परिवारलाई समेत भेटेका छन्।
उनले चाँडोभन्दा चाडो विमानस्थल निर्माण सम्पन्न हुने र कालिकोट हवाई मार्गबाट देशका अन्य ठूला सहरसँग छिटोछरितो रुपमा जोडिने बताए। साथै आवश्यक कदमका बारेमा आफूलाई जानकारी दिन र तीव्रत्तर रुपमा विमानस्थलको निमार्णमा जुट्न सबैलाई आग्रह गरेका छन्।
उनले भने, ‘विमानस्थल निर्माणको जिम्मा संघीय सरकार हो। तर, आवश्यक कदम र सल्लाह सुझावका लागि, समन्वयका लागि प्रदेश सरकार तयार छ। यसअघि पनि निरन्तर रुपमा लागेकै हो। अझैं पनि लाग्छ।’ मुख्यमन्त्री शाहीले गत असोज १६ गते पर्यटनमन्त्री योगेश भट्राईलाई भेटेर विमानस्थलकामा बारेमा जानकारी लिनुकासाथै प्रभावकारी रुपमा निर्माण कार्य सम्पन्न गर्न आग्रह गरेका थिए।
बाढी पीडितलाई प्रदेशको तीन लाख
मुख्यमन्त्री शाहीले गत बर्खायाममा बाढी पहिरोबाट पीडित बनेकाहरुको घरवास स्थानान्तरणका लागि तीन लाख र ज्यान गुमाएका परिवारका लागि दुई लाखका दरले क्षेतिपूर्ती दिने बताएका छन्।
त्यस्तै राष्ट्रिय प्रसारण लाईनका लागि जेठभित्र विद्युत पोल गाडिसक्न पर्ने तर, जिम्मेबार व्यक्तिले काम अलपत्र पारेको दाबी गरेका छन्। साथै शाहीले दलित परिवार र विपन्न परिवारलाई निःशुल्क रुपमा विजुलीका पोल, तार र विजुली उपलब्ध गराईने वचन दिएका छन्।
जेठभित्र निर्माण कार्य सम्पन्न हुन्छः अध्यक्ष विष्ट
त्यस्तै नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धिरबहादुर विष्टले आगामी जेठसम्म विमानस्थलको निर्माण कार्य सम्पन्न हुने दाबी गरेका छन्। उनले भने, ‘अहिले ग्रावेल गर्ने काम भइरहेको छ। आगामी जेठसम्म विमानस्थलको निमार्ण कार्य पूरा गर्ने लक्ष्यका साथ कामहरु भइरहेका छन्। गौरी, पार्वती र श्याम एण्ड शंकर निमार्ण कम्पनिहरुले रनवेय, कार्यालय भवन, तारबारको काम गरिरहेका छन्।’
उनले अगाडि भने, ‘विमानस्थललाई जोड्ने सडक मर्मत तथा सुधारको कार्य भइरहेको छ। कालोपत्रको काम चिसो मौसमका कारण केही पर धकेलिएको छ। आगामी फागूनदेखि सुरु हुन्छ। त्यसपहिले अन्य सबै कामहरुलाई सक्ने लक्ष्य छ।’
यता सुनथराली विमानस्थल सरोकार समाज (काठमाडौँ) ले २०७६ कात्तिक ६ गते गाउँपालिकाको वडा नम्बर १ मा रहेको उक्त निमार्णाधिन विमानस्थलको निमार्ण कार्य सुस्त र अस्तव्यस्त रहेको भन्दै आवश्यक कदम लिन संघीय सरकारकारका पर्यटनमन्त्री भट्टराईलाई ध्यानाकर्षण गराएको थियो।
उक्त सरोकार समाजले निरन्तर रुपमा विमानस्थलको निमार्ण, अनुगमन तथा निरिक्षणका लागि पर्यटनमन्त्रीलाई आग्रह गर्दै आइरहेको छ। त्यसपछि विमानस्थलको टावर, घेरवार, भवन, फिल्ड मर्मतका लागि २० करोड ६२ लाख रकम नागरिक उड्ययन मन्त्रालयबाट विनियोजित भएको थियो।
चार वर्षअघिको एउटा महत्वपूर्ण प्रयास
तत्कालिन संस्कृति, पर्ययटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीको सक्रियता र नेपाल तरूण दलका महासचिव भुपेन्द्रजंग शाहीको पहलमा २९ माघ २०७३ मा परीक्षण उडान गरिएको थियो।
६ सय ५० मिटर लामो विमानस्थलमा क्याप्टेन सन्तोष शाहको टीमले तारा एअरको विमान अवतरण परीक्षण उडान गर्न सफल भएपछि स्थानीयले कालिकोट देशका ठूला सहरसँगको हवाई सम्बन्धमा जोडिएको महसुस गरेका थिए। तर, त्यो महसुसले व्यवहारिकता प्राप्त गर्न सकेन।
मन्त्री शाहीले २०७३ फागुनको दोस्रो सातादेखि नियमित उडान गर्ने गरी कार्यालय तथा मानवस्रोत व्यवस्थापनको काम भएको र सम्वद्ध निकायलाई निर्देशनसमेत दिएका थिए। तर, निर्देशन केवल निर्देशनमै सिमित भयो। उनको कार्यकालमा जहाज परिक्षण अवतरण नै उपलब्धि बनेको थियो।