जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठिान जुम्लाको बहुवर्षिय गुरुयोजना अन्तर्गत शिक्षक तथा कर्मचारी आवास भवन, शैक्षिक भवन निर्णाणलगायतका आयोजनाका लागि राष्ट्रिय योजना आयोगले प्रस्ताव गरेको ६८ करोड रुपैयाँको बजेटमा सहमति दिएको छ।
अस्पताल निर्देशक डा.मंगल रावलका अनुसार कुल ६८ करोड बजेटमध्ये आन्तरिक २४ करोड र ४४ करोड रुपैयाँ अर्थ मन्त्रालयले सहमति दिएको हो।
प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले सभाको छैटौँ र सातौँँ बैठकबाट स्वीकृत बहुबर्षीय गुरुयोजना अन्तगर्त पहिलोचरणको शिक्षक र कर्मचारी आवास, प्रतिष्ठानदेखि च्यारे चौरसम्मको बाटो र च्यारे चौरमा बेसिक साइन्स भवन बनाउनका लागि आवश्यक बजेटका लागि अर्थले सहमति दिएको बताए।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै विगत तीन बर्ष देखिएको प्रयास सफल भएको भन्दै यसमा सहयोग गर्ने स्वास्थ्य मन्त्रालय, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयलाई धन्यवाद दिएका छन्। प्रतिष्ठानको सभाबाट २०६९ सालमा ३ अर्व ५८ करोडको बहुवर्षीय गुरु योजना अघि सारिएको थियो।
पहिलो चरणमा १ अर्वको लागतमा ३ सय शैय्याको अत्याधुनिक अस्पताल भवन निर्माण गरिएको थियो भने यो पटकको स्वीकृत हुने क्रममा रहेको दोस्रो चरणको बजेटले शिक्षक र कर्मचारी आवास, प्रतिष्ठानदेखि च्यारे चौरसम्मको बाटो र च्यारे चौरमा बेसिक साइन्स भवन बनाइने प्रतिस्ठानले जनाएको छ।