काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले पुस १८ गतेभित्र संघीय संसद्को हिँउदे अधिवेशन बोलाउनै कानूनी बाध्यता रहेको स्मरण गराएका छन्।
आइतबार १४औं संघीय संसद् सेवा दिवसको अवसरमा सभामुख सापकोटाले बाध्यात्मक व्यवस्थाअनुसार संसद अधिवेशन आह्वान हुनेतर्फ संकेत गर्दै त्यसका लागि तयार भइरहेको बताए।
संसद भवन बानेश्वरमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले भने, ‘वैधानिक रुपमा पनि पुस १७/१८ गतेसम्म संसद् अधिवेशन बोलाउनैपर्ने बाध्यता रहेको छ। अबको अधिवेशन नयाँ ढंगले चलाउने तयारी भइरहेको छ। नयाँ ढंगले संविधान कार्यान्वयन गर्ने हो। अहिले अलि परम्परागत, औपचारिक ढंगले चलिरहेका छौं जस्तो लाग्छ। संविधान संशोधनको बाटो खुला छ। रुपान्तरण यहाँबाट सुरु गर्न सकिन्छ। राम्रो कामका लागि हामीले रुपान्तरण गर्न सकिन्छ।’
संसद्को आवश्यकता र महत्त्व कानून निर्माण र सुशासन स्थापना गर्ने काममा धेरै रहने भएकोले संसद्को महत्त्व अझ बढी हुने सापकोटाको भनाई थियो। संसद् अधिवेशन बोलाउने र अन्त्य गर्ने अधिकार सरकारलाई भएको संवैधानिक व्यवस्था छ। सरकारले संसद् अधिवेशन अन्त्य गरेको ६ महिना पुग्न लाग्दापनि नबोलाएको अवस्थामा सभामुख सापकोटा सक्रिय भएको देखिन्छ।