काठमाडौँ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनौतीको सामना गर्दै देशलाई समाजवादतर्फ लैजानका लागि सम्पूर्ण प्रगतिशील शक्तिहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन्।
शनिबार पार्टी कार्यालय धुम्बाराहीमा संविधान सभा सदस्य तथा कांग्रेसकी नेता कौसर साहलाई नेकपामा स्वागत गर्दै प्रचण्ड यस्तो बताएका हुन्। उनले परिवर्तनलाई संस्थागत गर्न र वर्तमान समयमा देखिएको राजनीतिक संटकलाई चिर्दै अघि बढ्नुको विकल्प नभएको स्पष्ट पारे।
उनले भने, ‘परिवर्तनका लागि नेकपाको ऐतिहासिक भूमिका छ। परिर्वतनको रक्षा गर्दै देशको समृद्धि र विकासमा एकीकृत हुनुपर्ने समय आएको छ। चुनौतीको सामना गर्दै समाजवादको दिशातिर लाग्नेछौं। कौसर लगायत १०९ जनालाई नेकपामा हार्दिक स्वागत छ।’ कांग्रेस परित्याग गरेर नेकपामा प्रवेश गरेका १०९ जनालाई अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका छन्।’
संवैधानिक परिषदको बैठकको पूर्वसन्ध्यामा कौसर नेकपा प्रवेश गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संवैधानिक निकायमा अध्यक्ष तथा सदस्यको नियुक्तिका सन्दर्भमा छलफल गर्न संवैधानिक परिषदको बैठक बोलाएका छन्।
कौसर साहको राजनीतिक यात्रा
पद्यकन्या क्याम्पसबाट नेविसंघको राजनीतिमा आवद्ध भएकी कौसर २०५८ सालबाट नेपाली कांंग्रेसको सक्रिय राजनीतिमा लागेकी थिइन्। काठमाडौँ महानगरपालिकाको नेपाली कांग्रेसको नगर सदस्य, काठमाडौँ क्षेत्र नं ६ को कोषाध्यक्ष, मुस्लिम सङ्घको केन्द्रीय उपाध्यक्षको जिम्मेवार सम्हालि सकेकी साह २०६२/०६३ सालको जनआन्दोलनमा चार पटक जेल परेकी थिइन्।
२०६४ मा कांग्रेसबाट समानुपातिक उम्मेदवार बनेकी थिइन्। दोस्रो संविधानसभाको निर्वाचनबाट नेपाली कांग्रेसको मुस्लिम कोटाबाट संविधानसभा सदस्य भएकी थिइन्। काठममाडौं निवासी साह कांग्रेससको १३औं महाधिवेशनमा मुस्लिम कोटाबाट महाधिवेशन प्रतिनिधि रहेकी थिइन्।