डा. केसी भन्छन्, ‘सार्वजनिक खपतका लागि कांग्रेस सडकमा’



काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते सरकारका विरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मंसिर १७ गते तनहुँमा भएको धरपडकपछि आक्रमक बनेको कांग्रेसले मंसिर २९ गते देशभर प्रदर्शनमा उत्रिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
सरकारले (कोभिड–१९) को नियन्त्रण तथा उपचारमा उदासिनता देखाएको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टचार गरेको, अधिनायकवादी चरित्र देखाएको जस्ता आरोप लगाउँदै कांग्रेसले पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई २९ गतेको प्रदर्शनमा सहभागी हुन अपील गरेको छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको सरकार अधिनायकवादी बाटोमा हिड्ने थालेको र त्यसका विरुद्ध कांग्रेस सडकमा ओर्लिएको बताए । उनले भने, ‘कोभिड-१९ को महामारीका बेलामा पनि सत्तारुढ नेकपा सत्ताकै किचलोमा व्यस्त देखियो । कमिसनमा डुबेको देखियो । महामारी र देशको समग्र परिस्थितिलाई कसरी व्यवस्थापन गर्नेभन्दा पनि आन्तरिक द्वन्द्वमा केन्द्रित छ । त्यसैले हामी २९ गते प्रदर्शनमा उत्रिदैछौं । त्यसमा सहभागि हुन सबैलाई अपील गर्दछौं ।’

टुडे एक्सप्रेससँगको संक्षिप्त कुराकानीमा प्रवक्ता शर्मा भने, ‘उक्त आन्दोलनपछि पनि गृहकार्य गरेर सरकारका गलत क्रियाकलापका विरुद्ध थप विरोध प्रदर्शनहरु गर्ने कांग्रेसको तयारी छ ।’  पार्टीको १४औं महाधिवेशनका बारेमा कुनै छलफल गर्नुभयो ? भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘आजको बैठकमा क्रियाशील सदस्यता, आसन्न पार्टीको १४औं महाधिवेशन र जनसम्पर्क समितिका बारेमा पनि छलफल भएको छ ।’ २९ गतेको प्रदर्शन शान्तिपूर्ण रुपमा सञ्चालन गरिने प्रवक्ता शर्माको भनाई छ ।

कांग्रेसले घोषणा गरेको विरोध प्रर्दशनलाई राजनीतिक विश्लेषक प्रा.डा.सुरेन्द्र केसीले सार्वजनिक खपतको संज्ञा दिएका छन्। उनले भने, ‘सरकारका अराजक गतिविध र भ्रष्टक्रियाकलापहरुको बारेमा अन्य राजनीतिक तथा गरैराजनीतिक संगठनहरुले सक्दो विरोध गरिराखेका थिए । तर, कांग्रेस मस्त निद्रामा थियो । रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तार गरेपछि बल्ल ब्युउझिएको जस्तो देखिन्छ ।’

डा. केसीले अगाडि भने, ‘यसलाई मैले सार्वजनिक खपतको विषयका रुपमा लिएको छु । यसभन्दा अघि कांग्रेसका सभापति शेरबहादुर देउवाले ओलीसँग मिलेर राजनीतिक भागबण्डा खोजे । पोखरा विश्वविद्यालयको भिसी र एकजनालाई राजदुर बनाए । पछिल्लो समय अख्तियारको प्रमुखका लागि ओलीसँग बार्गेनिङ गरिरहेको भन्ने सुनिन्छ । भित्र एउटा बाहिर सडकमा अर्को पवृत्ति सार्वजनिक खपतबाहेक के हुन सक्छ ?’ साभारः टुडे एक्सप्रेस