काठमाडौँ। सामाजिक जागरणका गीतदेखि देशभक्ति गीतसम्म, देउडादेखि लोकदोहोरी गीतसम्म कहि न कहि जोडिएर आउने नाम हो बद्री पंगेनी। लोकप्रिय गायक पंगेनीले कुनैबेला बिधवा नारीहरुको जीवनकथामा आधारित बेदनाका गीत गाएर शोकलाई शक्तिमा बदल्ने सन्देश प्रसारण गरे।
त्रिशुलीको किनरामा बालुवा चालेर बालबच्चा पाल्नेहरुका गीत गाएर उनले राज्यलाई विपन्नहरुको अवस्था सुनाए। मुताङको स्याउ कुहिदै गर्दा विदेशी स्याउको मूल्य बढेको सन्देश दिए। लोकतन्त्र शासन व्यवस्थाका लागि गीत मार्फत योग्दान दिएका गायक पंगेनीले लोकतन्त्रकै आचरणमाथि प्रश्न उठाए।
उनले भने, ‘अझै नि लोकतन्त्र आको छैन है, जनताले भनेझैं भाको छैन है।’ त्यति मात्रै होईन प्रेमरसका गीत मार्फत आम जनतालाई नचाए। आमाका गीतहरु गाएर आमाहरुलाई रुवाउने काम पनि गरे।
उनै गायक पंगेनीेले पछिल्लो समय नयाँ गीत बजारमा ल्याएका छन्। जातीय विभेदका विरुद्धमा निर्माण गरिएको ‘तिम्रो घरमा मेरो छोरी’ बोलको गीतमा गायक पंगेनीलाई गायिका रचना रिमालले स्वरमा साथ दिएकी छन्। नारायण ज्ञवालीको शब्द रहेको गीतको संगीत गायक पंगेनी स्वयंले निमार्ण गरेका छन्।
गीतको म्युजिक भिडियो मार्फत जातीय विभेदको प्रतिकार गरिएको देखिन्छ। जातीय विभेदका बारेमा निर्माण भएका र बजारमा सुनिने गीतभन्दा केही फरक लाग्ने उक्त गीतमा रुना धुना मात्रै नभएर कानूनी उपचार र चेतनाको विकासको महत्वपूर्ण प्रश्न उठाएको पाईन्छ।
सुरुमा जातीय विभेदलाई लिएर छोरालाई मर्नसम्म बाध्य बनाएको परिवारले पछि गएर धनी मानी सम्पत्तिवालकी छोरी हो भन्दा स्वीकृति दिएर विवाह गर्न राजी भएको कुराहरु देखाइएको छ। जात व्यवस्थाका बारेमा अञ्जान रहेको नेपाली समाजलाई यो गीतले मान्छे हुनुको आभास गर्ने निर्माण टिमको विश्वास छ।
जातको नाममा भइरहेका विभेदहरुमा कतै सम्पत्ति जोडिन्छ त कतै रुप। धनी र रुप भएका दलितका चेलीहरुलाई गैरदलितहरुले स्वीकार गरेको र पछि गएर विभेद गरेको दृश्यरुहरु देखाइएको गीतमा प्रतिकार मार्फत कानूनी कारबाही गरेर जात भन्ने कुरा केही होइन रहेछ भन्दै पीडकले माफि मागेका दृश्यहरु देख्न सकिन्छन्। गीतमा दलितकी छोरी चलाउनेहरुले भान्छा नचलाएका सन्देशहरु छन्। बाहिर प्रगतिशील देखिनलाई छोरी चलाए पनि भान्छा नचाइएको सत्यलाई गीतमा उजागर गरिएको छ।
गायक पंगेनीको पहिलो निर्देशन रहेको गीतमा वरिष्ठ कलाकार सन्तोष पन्त, लक्ष्मी गिरि त्यस्तै कलाकारहरु टीका जैसी, विश्वास नेपाल, प्रबिन भट्ट, सुदिप बराल, रश्मि भट्ट, कृष्ण बराल, नारायण ज्ञावली, गोपाल पोख्रेललगाएतका कलाकारहरुको अभिनय रहेको छ।
भिडियो हेर्नुहोस्