काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा तानिएका छन् । कोरोना भाइरसको संक्रमणका कारण नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनसँगै श्रेष्ठ र लामाबीचको लेनदेनको विवाद बाहिरिएको हो।
शुक्रबारको नयाँ पत्रिकाले लामाको निधनसँगै एउटा विवादित लेनदेनमा नेकपा प्रवक्ता श्रेष्ठको नाम मुछिएको उल्लेख गरेको छ । पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको निधन भएलगत्तै प्रवक्ता श्रेष्ठ संवादमा सहभागी भिडियो तथा अडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
भिडियो तथा अडियो क्लिपमा दुई करोड रुपैयाँ लेनदेनको विषय छ। तर, श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम अगाडि आएको छ। लामा र पत्नी इन्द्रमायाबीच राम्रो सम्बन्ध थिएन । श्रेष्ठले दुवै ‘लामापत्नी र कर्माचार्य’ लाई परिवारकै सदस्य जस्तै भएकाले मिल्न सुझाब दिएका छन्।
प्रवक्ता श्रेष्ठले आफूले विवाद मिलाउन खोजेको र अहिले चरित्र हत्या गर्ने गरी प्रचार भएको बताए । ‘कमानसिंह र म लामो समयदेखिको सहयोद्धा हौँ, एउटा हाइड्रोको सेयरको विवादमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ । बाहिर आएको अडियो मैले पनि सुनेँ, त्यसमा केही अपात्तिजनक छ भन्ने मलाई लाग्दैन।
म गलत छु भन्ने लाग्छ भने जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे पनि हुन्छ । मेरो चरित्रहत्या गर्न खोज्नेलाई यति भन्नुछ, कहीँनिर थोरै पनि दोषी देखिए म दण्ड भोग्न तयार छु। कमानसिंहको मृत्युमा सबैभन्दा दुःखी हुनेमध्ये म पनि एकजना हुँ,’ उनले भने । प्रवक्ता श्रेष्ठले लामाको निधनको दुःखद खबरबाट आफू मर्माहत भएको उल्लेख गरेका छन्।