९ वटा दूतावास अगाडि धर्ना, आणविक अस्त्र निषेधको माग (फोटोफिचर)



काठमाडौँ। आणविक अस्त्रको विश्वव्यापी उन्मुलनको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाडौं र ललितपुरमा रहेका विदेशी ९ वटा दुतावास अगाडि एकसाथ धर्ना प्रदर्शन गरेको छ।

बिहिबार ७२औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा २५वर्षदेखि क्रियाशिल समाजले मध्यान्ह १२ बजेदेखि आधा घण्टासम्म काठमाडौंस्थित अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियाली दुतावास अगाडि एकसाथ प्रदर्शन गरेको हो।

उक्त धर्ना कार्यक्रममा ‘आणविक अस्त्र मानवताको सबैभन्दा ठूलो शत्रु र विश्व शान्ति एवं सभ्यताका लागि सबैभन्दा ठूलो खतरा हो,’ ‘सबै आणविक अस्त्र नष्ट गर,’ ‘आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर,’ ‘आणविक अस्त्र चाहिँदैन, शान्ति मास्न पाइदैँन,’ ‘कोभिड कहरबाट बच्न सकिन्छ तर आणविक कहरबाट कस्ले बचाउँने रु’ ‘आणविक अस्त्र रहेसम्म यो प्यारो धर्तीमा कोही सुरक्षित छैनन्,’ ‘हामी आणविक अस्त्ररहित विश्व चाहन्छौं’ लेखिएका ब्यानरहरु प्रदर्शन गरिएको थिए।

प्रदर्शनमा सहभागीहरुले आणविक अस्त्र निषेध सन्धि अनुमोदन गरि अरबौको मन जित्न आणविक अस्त्र भएका राष्ट्रहरुलाई आग्रह गरेका थिए भने ‘युद्ध निषेधः शान्ति विशेष,’ ‘युद्धमा सबैको क्षय हुन्छ शान्तिमा सबैको जय हुन्छ,’ ‘युद्ध रोक शान्तिलाई बढावा देऊ’ लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए।

प्रदर्शन पश्चातः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादीमिर पुटिन, ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सन, पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई विश्वसहमतिको राष्ट्रसंघीय आणविक अस्त्र निषेध सन्धिलाई शीघ्र हस्ताक्षर÷अनुमोदन गर्न र आणविक अस्त्रको पूर्ण उन्मुलनका लागि योगदान गर्न आग्रहसहित दुतावासका वरिष्ठ अधिकारीहरुलाई शान्ति समाजका प्रतिनिधिहरुले पत्र हस्तान्तरण गरेका थिए।

चिनियाँ राष्ट्रपति सी जिनपिङ, फ्रेन्च राष्ट्रपति इम्मान्युएल म्याक्रोन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेखिएको ज्ञापनपत्र सम्बन्धित दुतावासका अधिकारीहरुले हुलाक इमेलबाट पठाउन भनेको हुँदा सोही अनुरुप पठाइएको पनि समाजले जानकारी दिएको छ।

अमेरिकी दुतावास अगाडिको प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रीय सदस्य गीता तिमल्सिना, सदस्य उमा गौतम, मायाँ भट्टराई, दुर्गा राना, चिनियाँ दुतावास अगाडि सभापति उत्तम पुडासैनी, शान्ति समाज काभ्रे शाखा सभापति सुमित्रा बञ्जारा, उपसभापति हेमा मानन्धर, रुसी दुतावास अगाडि वरिष्ठ उपसभापति गोविन्द खनाल, केन्द्रीय विभागीय संयोजक विष्णु भुषाल, सदस्य कमला घिमिरे, ब्रिटिस दुतावास अगाडि संस्थापक सदस्य कृष्ण कँडेल, केन्द्रीय सचिव रत्नलक्ष्मी श्रेष्ठ, केन्द्रीय सदस्य नम्रता खरेल सहभागी थिए।

यस्तै, फ्रेन्च दुतावास अगाडि सल्लाहकार होमकान्त चौलागाई, प्रकृति, इजरायली दुतावास अगाडि संस्थापक महासचिव सुवास ढकाल, केन्द्रीय सचिव बलबहादुर गाहा मगर, केन्द्रीय सदस्य सरस्वती ढकाल, पाकिस्तानी दुतावास अगाडि कोषाध्यक्ष रामकृष्ण बराल, काठमाण्डौ शाखा सचिव ईश्वर पुडासैनी, संस्कृति हुमागाई, भारतीय दुतावास अगाडि काठमाडौं शाखा सभापति जगन्नाथ पुडासैनी, शान्ति समाजका पूर्व महासचिव कुमारराज सुवेदी, सदस्य ईश्वरा लिङ्देन र उत्तर कोरियाली दुतावास अगाडि ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, सन्जोग चाम्लिङ राई, विनु अधिकारीसहित ४ सय भन्दा बढी शान्तिवादीहरुको सहभागिता रहेको जनाइएको छ ।

समाजकी कार्यक्रम अधिकृत सरिता पौडेलले देशका ३१ जिल्लामा ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन यही अभियान अन्तर्गत ३२ वटा प्रदर्शन भएको जानकारी दिएकी छन्।

पछिल्लो चरणमा सन् २०१७ को जुलाई ७ मा राष्ट्रसंघ आयोजित सम्मेलनद्वारा आणविक हतियार निषेध सन्धि ग्रहण भई २०१७ सेप्टेम्बर २० मा हस्ताक्षरका लागि खुला भएको र २४ अक्टोबर २०२० मा ५० राष्ट्रले अनुमोदन गरेको हुँदा त्यसको ९० दिनपछि अर्थात २०२१ को जनवरी २२ बाट यो सन्धि लागू हुन गइरहेको छ । यो सन्धिले आणविक अस्त्रको विकास, परीक्षण, उत्पादन÷निर्माण, भण्डारण आदीलाई निषेध गरेको छ भने आणविक अस्त्रको प्रयोग वा प्रयोग गर्ने धम्कीलाई समेत निषेध गरेको छ।

यो सन्धि आणविक अस्त्रको उन्मूलनतर्फ उन्मुख भएको हुँदा विश्व शान्तिका लागि कोशेढुंगो मानिएको छ। ८४ राष्ट्रले हस्ताक्षर गरिसकेको यो सन्धिमा नेपालले हस्ताक्षर गरेता पनि हालसम्म अनुमोदन गरेको छैन भने आणविक अस्त्र भएका राष्ट्रहरु अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलले अझैसम्म हस्ताक्षर÷अनुमोदन गरेका छैनन्।