काठमाडौं। ब्राजिलियन स्टार नेमारले ह्याट्रिक गरेपछि युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ‘पीएसजी’ले शानदार जित हात पारेको छ।
अघिल्लो दिन रंगभेदी दुर्व्यवहारका कारण बिचमै स्थगित भएपछि गएराति फेरि खेलाइएको खेलमा पीएसजीले टर्किस क्लब इस्तानबुल बासाकसेयरलाई ५(१ ले पराजित गरेको हो।
मंगलबार राति भएको खेलमा बासाकसेयरका सहायक प्रशिक्षक पिएरे वेबोलाई म्याचको फोर्थ अफिसियलले रंगभेदी व्यवहार गरेपछि खेल स्थगित भएको थियो र दुवै टिमका खेलाडीहरु मैदानबाट बाहिरिएका थिए। त्यसपछि युईएफएले यसबारे अनुसन्धान गर्ने र खेल फेरि सुरु गराउने बताएको थियो।
पीएसजीका लागि नेमारले ह्याट्रिक गर्दा बाँकी दुई गोल किलएन एमबाप्पेले गरे। घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा नेमारले १औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए। ३८औं मिनेटमा नेमारले नै गोल गर्दै अग्रता दोब्बर पारे। ४० औं मिनेटमा पीएसजीका मिचेल बाकेरले गोल गरेपनि त्यसले मान्यता पाएन। तर, ४२औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमै ३(० को अग्रता दिलाए। दोस्रो हाफमा पीएसजीले दुई गोल थप्यो। ५०औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै नेमारले ह्याट्रिक पूरा गरे।
स्तानबुलका लागि ५७० मिनेटमा मेहमेत टोपालले एक गोल फर्काएका थिए। ६२औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजीले शानदार जित हासिल गरेको हो। जितपछि १२ अंक जोड्दै पीएसजी समूह एचको समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ। समान अंक भएपनि हेड टु हेडमा अवे मैदानमा गोल गरेका आधारमा आरबी लाइपजिग भने दोस्रो स्थानमा रह्यो। एजेन्सी