फेसबुकविरूद्ध अमेरिकी सरकारका दुई मुद्दा



काठमाडाैँ अमेरिकी सरकारले चर्चित सामाजिक संजाल फेसबुकविरूद्ध दुई वटा मुद्दा दायर गरेको छ।मुद्दाले उसलाई आफ्ना दुई चर्चित एपहरू ह्वाट्स एप र इन्स्टाग्राम बिक्री गर्नुपर्ने अवस्थामा पुर्‍याउन सक्नेछ। अमेरिकाको संघीय वाणिज्य आयोगसहित अमेरिकाका लगभग सबै राज्यहरूले फेसबुक प्रतिष्पर्धी कम्पनीहरूलाई किन्ने वा दबाउनेु रणनीति अख्तियार गर्दै प्रतिष्पर्धालाई साँघुरो बनाउने काम गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको रोयटर्सले जनाएको छ। कम्पनी विरूद्ध बुधबार दुई मुद्दा दायर गरिएको हो।

यसअघि गुगलको माउ कम्पनी अल्फाबेटविरूद्ध अक्टोबरमा अमेरिकी सरकारले यस्तै खाले मुद्दा दायर गरेको थियो। उसमाथि प्रतिष्पर्धीहरू रोक्न १ ट्रिलियन अमेरिकी डलर प्रयोग गरेको आरोप लगाइएको छ। बुधबार दायर गरिएको मुद्दामा फेसबुकमाथि प्रतिष्पर्धा खरिद गरेको आरोप लगाइएको छ। मुद्दामा फेसबुकले सन् २०१२ मा १ विलियन अमेरिकी डलरमा खरिद गरेको इन्स्टाग्राम र सन् २०१४ मा १९ विलियन अमेरिकी डलरमा खरिद गरेको ह्वाट्सएपका बारेमा विशेष जोड दिइएको छ।

संघीय र राज्यका नियामकहरूले ती अधिग्रहणहरू स्थगीत हुनुपर्ने दाबी गरेका छन्। वाणिज्य विभागले ती खरिदलाई यसै वर्षको सुरूमा मञ्जुरी दिइसकेकाले सरकार र कम्पनीबिच लामै कानुनी लडाईं हुने देखाएको छ। झण्डै एक दशकसम्म फेसबुकले आफ्नो प्रभुत्व र एकाधिकारको शक्ति प्रयोगबाट साना प्रतिष्पर्धीलाई दबाउने तथा प्रतिष्पर्धाबाट हटाउने काम गरेको छ र यी सबै उसले आफ्ना दैनिक प्रयोगकर्ताको बलमा गरेको छ ४६ अमेरिकी राज्यहरूका तर्फबाट मुद्दा हेरिरहेकी न्यूयोर्ककी महाधिवक्ता लेटिया जेम्सले भनिन्।

मुद्दामा वासिङ्टन डिसी, गुआम, अलाबामा, जर्जिया, साउथ क्यारोलिना र साउथ डकोट सहभागी छैनन्। जेम्सका अनुसार फेसबुकले ती कम्पनीहरूबाट प्रतिष्पर्धाको खतरा हुनुअघि नै आफ्नो दबदबा कायम गर्न ती कम्पनीहरू किनेको दाबी गरेकी छन्। फेसबुककी सल्लाहकार जेनिफर न्यूजस्टिडले मुद्दालाई संशोधनवादी इतिहासु भनेकी छन्।

उनले यसरी सफल कम्पनीलाई कारवाही गर्ने कानुन नभएको बताएकी छन्। सरकार चमत्कार गर्न चाहन्छ। कुनै पनि खरिद बिक्री अन्तिम हुने छैन भनेर अमेरिकी व्यवसायलाई एउटा चिन्ताजनक सन्देश दिइएको छु, उनले भनिन्। फेसबुकलाई लगाइएका आरोपमाथि संशय व्यक्त गर्दै उनले कम्पनीको ह्वाट्सएप निःशुल्क बनाउने निर्णयबाट उपभोक्तालाई फाइदा पुगेको दाबी गरेकी छन्।