विश्वकप विजेता इटालियन फुटबलर पाउलो रोसीको निधन



काठमाडौं। इटालियन लेजेण्ड तथा फिफा विश्वकप फुटबलको विजेता पाउलो रोसीको निधन भएको छ।

रोसीको ६४ वर्षको उमेरमा मंगलबार निधन भएको हो। उनले काम गरेको आरएआई टीभीले रोसीको निधनको खबर सार्वजनिक गरेको हो।

युभेन्ट्स र एसी मिलानका पूर्व खेलाडीसमेत रहेका रोसीले सन् १९८२ मा विश्वकप जितेका थिए। उनलाई विश्वकै उत्कृष्ट फरवार्डमध्ये एक मानिँदै आएको छ। यस्तै सन् १९८२ मा इटलीलाई स्पेनमा विश्वकप जिताउँदा उनले गरेको उत्कृष्ट प्रदर्शनका लागि पनि उनलाई सम्झिइन्छ।

इटलीले विश्वकप फाइनलमा पश्चिम जर्मनीलाई ३-१ ले पराजित गर्दा रोसीले पहिलो गोल गरेका थिए। उनकै ह्याट्रिकमा इटलीले उपाधिको दाबेदार मनिएको ब्राजिललाई ३-२ ले पराजित गर्दै चाँडै घर फर्काएको थियो। यस्तै सेमिफाइनलमा इटलीले पोल्याण्डलाई २(० ले पराजित गर्दा दुवै गोल रोसीले गरेका थिए।

रोसीले विश्वकपमा गोल्डेन बुट र गोल्डेन बल दुवै अवार्ड जितेका थिए। साथै उनले त्यही वर्ष बालोन डेओर अवार्डसमेत जितेका थिए। उनले उक्त विश्वकपमा कूल ६ गोल गरेका थिए। रोसीले इटलीका लागि ४८ खेल खेल्दै २० गोल गरे। उनले चार सिजन युभेन्ट्समा बिताउँदा दुई सिरी ए, एक युरोपियन कप र एक कोपा इटालिया जिते।