मोरोङमा सुराकी गरेको आरोपमा शिक्षकको हत्या



विराटनगर। मोरङको मिक्लाजुङमा विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा शिक्षकको हत्या भएको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ।

‘विप्लव समूहका कार्यकर्ताहरुले सुराकीको आरोपमा मिक्लाजुङमा मंगलबार बिहान शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको सूचना आएको छ,’ प्रहरी उच्च स्रोतले भन्यो। ५४ वर्षीय श्रेष्ठलाई घरबाटै उठाएर करिब एक किलोमिटर पर पुर्याई टाउकोमा गोली हानेर विप्लव समूहले हत्या गरेको प्रहरीले जनाएको छ।

मक्लाजुङ गाउँपालिका–१ का वडा अध्यक्ष नरबहादुर राईका अनुसार मंगलबार बिहान घरबाटै शिक्षकलाई अज्ञात समूहले लिएर गएका थिए। शिक्षकलाई घरबाट लिएर गएको केही समयपछि हत्या गरेको खबर आएको उनले बताए। ‘वडा कार्यालयबाट करिब अढाई घण्टाको दुरीमा पर्छ उहाँको (शिक्षक) घर,’ उनले भने, ‘बिहान घरबाट अज्ञात समूहले लिएर गयो भन्ने जानकारी आयो। लगत्तै मान्छेलाई सिध्याएको खबर आयो।’

उनका अनुसार शिक्षक श्रेष्ठ गाउँमै रहेको सरस्वती आधारभूत विद्यालयमा पढाउँदै आएका छन्। ‘उहाँको घर अलिक माथि नै पर्छ,’ अध्यक्ष राईले भने, ‘घरदेखि केही पर जंगलमा हत्या भएको छ। हामी जाने तयारी गर्दैछौं।’ उनका अनुसार शिक्षक श्रेष्ठको घर नजिकै रहेको स्थानबाट दशैंमा प्रहरीले विप्लव समूहका दुईजना नेतालाई हतियारसहित पक्राउ गरेको थियो।

प्रहरी स्रोतका अनुसार मिक्लाजुङ नेत्र विप्लव चन्द समूहको सैन्य अभ्यास गर्ने क्षेत्र हो। पाँचथर, इलाम धनकुटा र मोरङको सीमावर्ती क्षेत्र मिक्लाजुङमा विप्लव समूहले सैन्य अभ्यास हुँदै गएको जानकारीका आधारमा गत कात्तिक १२ गते मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काको नेतृत्वमा प्रहरी टोली परिचालन भएको थियो। तर, विकट क्षेत्रमा मोबाइल नेटवर्कले काम नगर्दा विप्लव समूहका कार्यकर्ता भागेका थिए।

स्थानीयको घरमा लुकेका दुई जना पक्राउ परेका थिए। इलामको चुलाचुली गाउँपालिका–६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतिक भनिने काशिनाथ घिमिरेलाई हतियारसहित पक्राउ परेको थियो।प्रहरीका अनुसार घिमिरे नेकपाको पूर्वी कमाण्ड मेची–कोशी ब्यूरो चौथो कम्पनीका कमिसार हुन्। उनी सप्तरी जिल्लाका पूर्वसेक्रेटरी पनि हुन्। यसैगरी विज्ञान राई पार्टीको साधारण सदस्य रहेको प्रहरीले जनाएको छ।

अनलाइनखबरका अनुासर गत मंसिर ८ गते पनि मिक्लाजुङबाट बन्दोबस्तीका समान खरिद गर्न उर्लाबारी आएका विप्लव समूहका सेक्सन कमाण्डर ताप्लेजुङका ३२ वर्षीय पेम्बा साङ्गे शेर्मा पक्राउ परेका थिए। उनको साथबाट पेस्तोल र विप्लव समूहका कार्यकर्ताका लागि खरिद गरेको ज्याकेट बरामद गरेको थियो।