काठमाडौँ। पछिल्लो समय राजवादीहरुले टाउको उठाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।
देशभर राजावादीहरुले सरकार, प्रशासनको आदेशलाई अवज्ञा गर्दै आन्दोलन गर्न थालेपछि यसबारे छलफल गर्नका लागि ओलीले (भोलि) मंगलबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन्।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्रीले मंगलबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएको पुष्टि गरेका छन्। उनका अनुसार संघीय संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी बैठक बोलाइएको बताइएको छ।
पछिल्लो समय देशभर राजवादीको आन्दोलन चर्किएपछि गणतन्त्र पक्षधरहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिँदै आएका छन्। गत शनिबारमात्रै प्रधानमन्त्रीको गृह जिल्ला झापासहित देशका विभिन्न स्थानमा राजावादीले प्रदर्शन गरेका थिए।
नेकपाको स्थायी समिति बैठकमा समेत यसबारे प्रभावशाली नेता जनार्दन शर्माले छलफलका लागि ‘विशेष प्रस्ताव’ पेश गरेका थिए। शर्माले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई सम्बोधन गरेर पेश गरेको विशेष प्रस्तावमा सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्र राख्ने निर्णयबाट गणतन्त्र विरोधीहरु उत्साहित भएको उल्लेख गरिएको छ।
नेकपाको सरकार र गृह प्रशासनले यस्ता कृयाकलापको रक्षा गरिरहेको छ भन्ने जन आवाज सुन्निन थालेको भन्दै संघीयताको पक्ष्यधर सबै पार्टीहरुको बीचमा छलफल आयोजना गरी जनभावना अनुसार अघि बढ्नुपर्नेमा जोड दिइएको छ।
कोरोना महामारीका बीच नै गणतन्त्रमाथि प्रश्न उठाउँदै ठूलो संख्यामा युवाहरु सडकमा आएपछि तरंग उत्पन्न भएको छ। यसअघि प्रधानमन्त्रीले गत वैशाखमा भारतले सीमा मिचेपछि सर्वदलीय बैठक बोलाएका थिए।