ओली अनुपस्थित नेकपाको स्थायी कमिटी वैठक सम्पन्न



काठमाडौँ। नेकपाका अध्यक्ष केपी शर्मा ओलीरहित बसेको नेकपाको स्थायी समिति बैठक सम्पन्न भएको छ। बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली सहभागी भएका थिएनन्।

प्रधानमन्त्री ओलीले बैठकमा उपस्थिति हुन नसक्ने भनेर लेखेको पत्र इश्वर पोखरेलले पढेर सुनाएका थिए। साथै आजको बैठकमा दुबै अध्यक्षले सचिवालय बैठकमा पेश गरेको राजनैतिक प्रतिवेदन स्थायी समिति सदस्यलाई बितरण गरिएको छ।

आगामी स्थायी समितिको बैठक मंसिर २८ गते बस्ने र मंसिर २५ गते बस्ने भनिएको नेकपा केन्द्रीय समितिको बैठक पुस ५ गते बस्ने निर्णय गरेको छ। आजको बैठकलाई अध्यक्ष प्रचण्डले सम्बोधन गरेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठकमा ओली सहभागी नहुने जानकारी दिएका थिए। नेताहरुले केही समय ओलीलाई कुरे पनि नआउने निश्चित भएपछि ओली बिनै बैठक सुरु गरेका थिए। शनिबारको सचिवालय बैठककमा ओलीले पार्टी विवाद सचिवालय बैठकमै मिलाउनुपर्नेमा जोड दिएका थिए।

मन्त्रिपरिषद‍्मा हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्याकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद रहँदै आएकोमा प्रचण्ड र ओलीले छुट्टाछुट्टै प्रस्ताव ल्याएपछि विवाद थप उत्कर्षमा पुगेको हो।