आहा ! से-फोक्सुण्डाेका १० तस्बिर



डोल्पा। नेपालको सबैभन्दा गहिरो तालको रुपमा रहेको फोक्सुण्डो ताल डोल्पा जिल्लामा पर्छ।

उत्तर–दक्षिण फैलिएको फोक्सुन्डो ताल वरिपरि धेरै भाग चट्टानले घेरेको छ। दक्षिणतिर जंगल छ। तालको आकारप्रकार हेर्न एकै छेउबाट सकिँदैन। एक छेउबाट अर्को छेउ देखिँदैन।

शे-गुम्बा जाने बाटो माथि डाँडामा गएर हेर्दा पनि तालको पूरै भाग देख्न सम्भव छैन। ताललाई स्थानीयहरू फुक्सुम्धो भन्छन्। डोल्पो भाषामा फुक्सुम्धोको अर्थ नेपालीमा त्रिवेणी हुन्छ। यो भनाइअनुसार ताल झन्डै तीनकुने आकारको छ। दक्षिणतिरको भाग भने लामो र तल्लो टुप्पो केही फैलिएको छ। पर्यटकहरू त्यही तल्लो कुनामा पुगेर तालको पूरै आकारको अवलोकन नगरी फर्कने गर्छन्।

समुद्री सतहदेखि ३ हजार ६ सय ५० मिटर उचाइमा रहेको फोक्सुन्डो ताल नेपालकै गहिरो मानिन्छ। यसको गहिराइ ६ सय ५० मिटर छ। केही महिनाअघि भ्रमणका क्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले ताललाई स्वर्गको टुक्रा भनेका थिए। ताल अवलोकन गर्नेलाई स्वर्गको टुक्रा अनुभूत हुन्छ।

सदरमुकाम दुनैदेखि ३६ किमि उत्तरमा पर्ने ताल जान दुनैबाट २ दिन पैदल हिँड्नुपर्छ। यसरी कठिन बाटो काटेर फोक्सुन्डो पुग्दा त्यहाँको सुन्दर दृश्यले बाटाका सबै दुख भुलिने पर्यटकहरूको अनुभव छ।

उत्तरतिरबाट छाल्फु र ढेवुथान २ ठूला खोलाबाट तालमा पानी प्रवेश गर्छ। दक्षिणतिर रिग्मो गाउँ नजिकको खोला बनेको खोल्साबाट तालको सफा पानी बाहिरिन्छ। यसरी तालबाट बाहिरिएको पानी करिब ५ सय मिटर तल पुगेर १ सय ६७ मिटरको फोक्सुन्डो सुलिगाड झरना बनेर झर्छ। यो झरनाले फोक्सुन्डो परिसरलाई रमणीय बनाएको छ।

कुसेन्युजबाट साभार