प्यारो चौकुने तँसँग माया अनि सम्झना अथाह छ



प्यारो चौकुने धेरै माया अनि धेरै सम्झना।

आज फेरि तेरो याद आएर यो पत्र लेख्दै छु।चौकुने त सङ्ग छुट्टिएको करिबकरिब चारवर्ष पुग्न लाग्यो। तेरो माया अथाह छ।

हुन त म मात्र होइन म जस्ता हजारौं युवा तँसँग छुट्टिएर भविष्य खोज्न हिँडेका छन्। त्यसमध्ये म पनि एक हुँ। जहाँ गए नी याद त तेरै नै आउँछ, जति सुबिधा सुखशयलमा भएनी प्यारो चौकुने तँलाई फिटिक्कै बिर्सन सकिएन यार ।

जन्म घर बिजौरामा भएनी बाल्यकाल बेतानको सोभानचौरमा बित्यो। करिब करिब बाह्र वर्ष को उमेर पछि पढाइ को शिलशिलामा बिजौरा बसियो।

जिन्दगी एक सङघर्ष रहेछ। अहिले आएर बुझ्दै छु । मलाई याद छ चौकुने, कर्णाली नदिमा साथीहरुसँग पौडी खेलेको, माछा मारेको, ती बालापनको उमेर सम्झिँदा निद्राबाट बिउँझिए जस्तो लाउँछ । ती बालापनका साथीभाइ पनि तँसँग छैनन् सबै छुट्टिएका नै छन्।

पश्चिममा लगाम, बेतान, बिजौरा, घाटगाऊँ र गुठु मिलेर बनेको एक चौकुने आफैमा विशाल छ। चौकुने, उकाली ओराली गरेका ती दिन सम्झिन्छु सोभानचौर देखि जाबुने हुँदै भुडेभावर पछि बिजौरा आउँथ्यो। म कैले उता कैले यता आउने जाने नै गर्थें।

समय बढ्दै गयो उमेर नि बढ्दै गयो गाउँ बस्ने अवस्था देखिन रहर इच्छा नहुदा नहुदै पनि बध्यता ले तँसंग छुट्टिएर खाडी हानिएँ।

म भौतिक दुरिले टाढा भएनी मेरो मन मस्तिष्क तँसँगै घुमिरहेको हुन्छ । यहाँ म निदाउँदा सपनिमा र बिउँझिंदा मस्तिष्कमा खेल्ने गर्छस् चौकुने । मेरा आफन्त साथीभाइ देश फर्क भन्छन् । फर्कने हो भने जुनदिन यहाँ काम छोड्छु त्यही दिन देखि म बेरोजगार बन्ने छु । मलाई थाहा छ यहाँ बस्दै गर्दा जसोतसो घर चलाएकै छु फर्किने हो भने त्यही घर चलाउन मलाई हम्मे हुनेछ । हुन त नेपाली भएर जन्मिसकेपछि बिदेशिनु पर्दो रहेछ ।

दाइ प्रकाश सपूतको गित सुन्ने गर्छु ‘किन्न त पाईन्छ हावा एसीको अनि पानी फ्रीजको तर तिर्सना मेट्दैन गाउँबेसीको’

“ठुलाठुला समुन्द्र छन् खोली भेटिंदैन

मुलको पानी खाए जस्तो तिर्खा मेटिंदैन”

अरे यार चौकुने, यति माया छ तँसँग भुल्न नसकिने रहेछ। यो म बसेको देश यति बिजि छ कोही कसैले कसैलाई चिन्दैन त्यसैले होला हरेक दिन तँलाई नै सम्झने गर्छु। चौकुने, बरु गुन्द्रुक ढिडो खाँदा त्यती आन्नन्द आउँछ जुन kfc खाँदा आउँदैन ।

कहिलेकाहीँ साथीहरुसँग कुरा हुन्छ ‘अरे यार बिदेश छस् मोज छ होला?’ भन्ने गर्छन्। के थाहा गाउँमा बसेको साथीलाई प्रदेशिनुको पीडा। अझ भन्ने गर्छन् ‘बोल्न पनि छाडिस्, फोन नि गर्दैनस्, मेसेज नि गर्दैनस्, के हो पैसा कमाइस् होलानी?’ यसो भन्दै गर्दा मन कति दुख्छ तर साथी ले बुज्दैन । तँ राती सुत्छस् भने साथी म राती काम गर्छु त दिउँसो काम गर्छस् भने म दिउँसो सुत्छु त्यसैले आज गरेको मेसेज भोलि रिप्लाई हुन्छ । तसर्थ साथीहरुसँग माफी चाहन्छु।

चौकुने, तँसँग माया अनि सम्झना अथाह छ। अन्तमा तँसँग चाँडै भेट्ने बाचा गर्दछु।

धन्यवाद!

लछिराम ढकाल 

चौकुने-४, सुर्खेत 

हाल मलेसिया