नेकपाको विवाद स्थायी कमिटिमा सर्यो



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सहमति जुटाउन नसकेपछि पार्टीभित्रको विवाद स्थायी समितितिर केन्द्रित बनेको छ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी समितिलाई दिएको हो। बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुको सँगको कुराकानीमा विवादको पूर्वनिर्धारित कार्यतालिकाअनुसार आइतबारको स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड दुबैको प्रस्ताव छलफलका लागि लैजाने निर्णय भएको बताए बताए।

उक्त निर्णयअनुसार आइतबार बस्ने स्थायी समितिमा दुबै प्रस्ताव पेश हुनेछ। ‘पूर्वनिर्धारित स्थायी कमिटी भोलि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको छ। पार्टीको संकट र निवारणका सन्दर्भमा छलफल गरेर निष्कर्ष निकालिने छ’, प्रवक्ता श्रेष्ठले भने, ‘दुबै प्रस्ताव पेश गरी छलफलमा लैजाने लगिने छ।’

गत कात्तिक २८ गतेको बैठकमा प्रचण्डले ओलीमाथि दर्जनौं प्रश्न गर्दै फरक प्रस्ताव ल्याएका थिए भने त्यसको काउन्टरमा ओलीले पनि मंसिर १३ गतेको बैठकमा छुट्टै प्रस्ताव ल्याएका थिए।

बादलको प्रस्ताव वामदेवद्वारा अस्वीकार

शनिबार बसेको सचिवालय बैठकमा सचिवालय सदस्य रामबहादुर थापा बादलले कार्यदल बनाएर संकटको समाधान खोज्नुपर्ने प्रस्ताव उपाध्यक्ष वामदेव गौतमले अस्वीकार गरेका छन्।

बैकमा छलफलका क्रममा नेता थापाले उक्त प्रस्ताव गरेपछि महासचिव विष्णु पौडेलले समर्थन गरेको बुझिएको छ। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पनि बादलको प्रस्तावलाई समर्थन गर्दै कार्यदलको संयोजक उपाध्यक्ष वामदेव गौतमलाई बस्न आग्रह गरेका थिए। तर,उपाध्यक्ष गौतमको बोल्ने पालो आएपछि गौतमले त्यस्तो कार्यदलको कुनै अर्थ नभएको बताउँदै आफू संयोजक नबन्ने बताए।

ओलीले दुवै पद नछोड्ने

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दुबै पद नछाड्ने अडान दोहोर्‍याएका छन्। शनिबार सवा ३ घण्टा बसेको सचिवालय बैठकमा पार्टीभित्रको संकट समाधानमा सहमति नजुटेपछि नेताहरुले दुवै प्रतिवेदन स्थायी कमिटीमा लगेर छलफल गर्दै निर्णयमा पुग्ने बताएका छन्।

नेताहरुले यस्तो धारणा राखेपछि अध्यक्ष ओलीले जहाँ गएपनि आफूले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्ने अडान दोहोर्याएका हुन्। ‘जहाँ गएपनि म प्रधानमन्त्री पनि छाड्दिन, अध्यक्ष पनि छाड्दिन,’ ओलीले बैठकमा भनेको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘यो स्थायी समिति पनि काम छैन। यसले केही काम पनि गर्न सक्दैन।’