मौसमलाई नियन्त्रणमा राख्ने प्रविधिको विकासमा जुट्यो चीन



काठमाडौँ। चीनले अब प्रविधिको सहयोगमार्फत मौसमलाई पनि नियन्त्रणमा राख्ने कोसिस गर्दैछ। यसका लागि उसले २०२५ सम्मका लागि एक कार्यक्रम बनाएको छ । यस कार्यक्रम ५० दशमलव ५ लाख वर्ग किलोमिटर क्षेत्रफलसम्म बिस्तार गर्ने उसको योजना छ, जो भारतको कुल क्षेत्रफलभन्दा झन्डै डेढ गुणाले बढी हो।

चीनको स्टेट काउन्सिलले २०२५ सम्मका लागि बनाएको योजनामा यस्तो हिउँ र वर्षालाई नियन्त्रणमा लिन सकिने उल्लेख छ। चीनले यस कार्यक्रमलाई ‘एक्सपेरिमेन्टल वेदर मोडिफिकेशन प्रोग्राम’ नाम दिएको छ।

चीनका अनुसार यस योजनाले प्राकृतिक संकटबाट राहत मिल्नेछ र कृषि उत्पादन बढाउन सहयोग मिल्नेछ। धेरै तापक्रमयुक्त इलाकामा तापमान घटाउने, सुख्खा प्रभावित क्षेत्रमा वर्षा गराउने र धेरै वर्षा र हिउँ नियन्त्रणमा राख्ने काम पनि गर्नेछ।

चीनले मौसमी परिवर्तनलाई नियन्त्रणमा राख्ने प्रयास गरेको यो पहिलोपटक होइन। २००८ को बेइजिङ ओलम्पिकका दौरान पनि उसले यस्तै गरेको थियो।

वर्षा रोक्न र आकाश सफा गर्नका लागि क्लाउड सिडिङको साहारा लिइएको थियो। चीनले यसपटक आफ्नो महत्वाकांक्षी योजनाका लागि ठूलो लगानी गरिरहेको छ। २०१२ देखि २०१७ सम्म उसले यस कार्यक्रममा झन्डै १ दशमलव ३४ बिलियन डलर खर्च गरिसकेको छ।

चीनियाँ सरकारी मिडियाहरुका अनुुसार यस कार्यक्रम लागु भएपछि जिनजियाङ राज्यमा अशिनाका कारण हुने नोक्सानी ७० प्रतिशतसम्मले कम गर्न सहयोग पुुग्नेछ।