कामपा र चनपाबीच भगनि सम्बन्ध स्थापना



जुम्ला। जिल्लाको चन्दननाथ नगरपालिका र संघीय राजधानी काठमाडौँको कामपाबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ।

बिहिबार राष्ट्रिय सभागृहमा चनपा प्रमुख कान्तिका सेजुवाल र कामपा प्रमुख विद्यासुन्दर शाक्यबीच उक्त निर्णय गरिएको हो। चन्दननाथ नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय गरिसकेको जानकारी दिँदै मेयर शाक्यले विविधताभित्रका समानता, पर्यटन र पर्यावरणीय सम्बन्धका आधारमा भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय भएको बताए।

‘काठमाडौँमा धेरै मूर्त तथा अमूर्त सांस्कृतिक, सम्पदा छन्। मानवनिर्मित सम्पदाले धनी काठमाडौँ सांस्कृतिक सहर र कर्णालीको दुर्गम नगरपालिका चन्दनथानबीच भगिनी सम्वन्ध स्थापना गर्ने कुरा आफैमा सकारात्मक छ। प्रकृति र पर्यावरणको समुचित सन्तुलन बिना मानवसमाजको अस्तित्व नै संकटमा पर्नसक्ने कुरालाई मनन गर्दै दिगो र नतिजामुखी साझेदारी गर्न चाहेका छौँ।’ मेयर शाक्यको भनाइ थियो।

अन्तरर्राष्ट्रिय सम्बन्धसँग देशभित्रकै पालिकासँगको सम्बन्धको विषय जोड्दै मेयर शाक्यले, संघीयतालाई सार्थक र थप बलियो बनाउन अन्तरपालिका भगिनी सम्बन्धले टेवा पुग्ने अपेक्षा गरेको बताए।

‘हामीले यस अघि पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तरर्गत काठमाडौँका १० वटा नगर, भक्तपुरको मध्यपुर ठिमी र रामग्राम नगरपालिकासँग केही साझेदारीका काम अघि बढाएका छौँ। चन्दननाथसँग सम्वन्ध स्थापनापछि जुम्लामा उत्पादित बहुमुल्य जडीबुटी, स्याउ, सिमी, ओखरलगायतका प्राङगरिक कृषि उत्पादनको बजारीकरण, व्यवस्थापनमा सहकार्य हुनेछ। अर्कातिर रारा, सेफोक्सुण्डो जस्ता ताल जाने बाटोमै रहेकोले चन्दननाथ र काठमाडौंको धार्मिक पर्यटनलाई जोड्न सकिन्छ।’ उनको भनाइ थियो।

‘भगिनी सम्बन्ध भन्नेवित्तिकै विदेशी सहरहरुको कुरा आउँछ। तर, हामी नेपालकै नगरहरुको अवस्था चिन्न चाहन्छौं। चन्दनथान नगरकी प्रमुख कान्तिका सेजुवालले भनिन्, ‘विदेशी सिको गर्न खोज्दा ढङ्ग नपुगेर धेरै स्रोत र योजना खेर गए। त्यसैले हामीले हाम्रै राजधानी सहर काठमाडौैं महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापना गर्न पहल गर्दै देशभित्रका नगरको सीप नक्कल गर्दा कार्यान्वयन योग्य हुने बताइन्।

दुई नगरबीचको धार्मिक पर्यटनले नेपालको पर्यटन उद्योगमा नयाँ आयाम थप्ने मेयर सेजुवालको विश्वास छ। देशभित्रका नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न निर्णय गरिएको यो पहिलो नगर हो भने हस्ताक्षर भएको नगर रामग्राम हो। काठमाडौँ महानगरपालिकाले विश्वका विभिन्न १६ वटा नगरसँग भगिनी सम्वन्ध स्थापना गरिसकेको छ। पाकिस्तानको इस्लामावाद र थाइल्याण्डको बैकक प्रक्रियामा छन्।