अभिनेता रजनीकान्तले राजनीतिक पार्टी खोल्ने



चेन्नई। भारतका चर्चित अभिनेता रजनीकान्तले राजनीतिक पार्टी खोल्ने भएका छन्। तमिल सिनेमामार्फत भारतमा निकै चर्चित बनेका रजनीकान्तले बिहीबार चेन्नईमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफूले नयाँ पार्टी खोल्न लागेको घोषणा गरेका हुन्।

रजनीकान्तले पार्टीको औपचारिक घोषणा भने डिसेम्बर ३१ मा गर्ने जनाएका छन्। भारतको तमिलनाडु राज्यमा निर्वाचन हुन लागेको पूर्वसन्ध्यामा उनले पार्टी खोल्ने र चुनावी प्रतिस्पर्धामा उत्रने जनाएका हुन्।

‘हामीले एउटा नयाँ राजनीतिक पार्टी गठन गरेर घोषणा गर्न लागेका छौं । जनवरीमा दर्ता भएपछि त्यसले काम गर्न थाल्ने छ । त्यसमार्फत हामीले अत्यन्त कडाइका साथ काम गर्नेछौं,’ रजनीकान्तले भने । उनले पार्टी खोल्ने निर्णयमा पुग्नुअघि धेरै जनासँगै आवश्यक परामर्श गरेको सामाजिक सञ्जाल ट्वीटरमार्फत जनाएका छन्।

‘मैले पटकपटक विभिन्न व्यक्तिहरूसँग छलफल गरें। उहाँहरूको सल्लाह सुझावलाई लिएर मैले पार्टी खोल्ने निर्णयमा पुगेको हुँ,’ उनले भने। आफूलाई धेरैले सहयोग गर्ने भरोसा पलाएको र आवश्यकता पनि देखिएको रजनीकान्तको भनाइ छ। तमिलनाडुमा सन् २०२१ को अप्रिलदेखि मेसम्म विधानसभा निर्वाचन हुँदै छ।