‘प्रधानमन्त्री र गृहमन्त्रीले माफी नमागेसम्म आन्दोलन रोकिदैन’


काठमाडौँ। नेपाली कांग्रेसका नेता दिपक खड्काले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले माफी नमागेसम्म आन्दोलन नरोकिने बताए।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेकोमा ओली र बादल दुवैले माफी माग्नुपर्ने भन्दै देशव्यापी आन्दोलन हुने बताए। नेता खड्काले भने, ‘प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाले माफी नमागेसम्म आन्दोलन जारी रहन्छ।’

१४ वर्ष जेल बसेर राजनीतिक अन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका वरिष्ठ नेतालाई सामान्य विषयमा नियन्त्रणमा लिनु लोकतन्त्रमाथिको हमला भएको खड्काको तर्क छ। “यो सरकार उन्माद र तानाशाही प्रवृत्तिमा चलेको छ। निरंकुशतामा चलेको सरकारलाई सहेर बस्दैनौँ,” खड्काले भने।

सडक र सदनबाट आन्दोलनको आँधीबेहेरी ल्याएर सरकारलाई बढार्ने चेतावनी खड्काले दिएका छन्। कांग्रेस एक भएर लोकतान्त्रिक मूल्य र मान्यता जोगाउनका लागि अघि बढ्ने बताउँदै उनले राणा र राजा फाल्ने कांग्रेसलाई कम्युनिष्ट फाल्न कुनै समस्या नहुने पनि बताए।

त्यसैगरी, खड्काले पछिल्ला दिनमा राजावादीहरुसलबलाएर लोकतन्त्रमाथि हमला भएको टिप्पणी गरे। सरकारको कमजोरीका कारण राजसंस्थाको एजेण्डा उठेको भन्दै यसको जिम्मेवारी पनि ओली सरकारले लिनुपर्ने खड्काको भनाई छ।