नेता महतद्वारा तत्काल संसदको अधिवेशन बोलाउन माग



पर्सा। नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशसरण महतले तत्काल संघीय संसदको विशेष अधिवेशन बोलाउन माग गरेका छन्।

प्रेस युनियन पर्सा शाखाले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जनताको समस्या राख्ने र सरकारलाई जवाहदेही बनाउने मुख्य थलो संसदलाई बन्द गरिराख्न उचित नहुने भन्दै तत्काल विशेष अधिवेशन बोलाउन माग गरेका हुन्।

देशभित्र उठेका प्रश्नको जवाफ सरकारले संसदको विशेष अधिवेशनमा दिनुपर्ने उनको भनाइ थियो। ‘कोरोना संक्रमण रोकथाम र उपचारमा सरकारले खेलेको भूमिकाबारे प्रश्न उठिरहेको छ।

कोरोना संक्रमितको उपचारका लागि पैसा छैन भन्ने तर पार्टीका नेताको व्यवस्थापनका लागि सामान खरिदमा करोडौं संस्थागत भ्रष्टाचार गर्ने? यसले जनता मारमा परेका छन्,’ उनले भने, ‘मुलुकमा भएका भ्रष्टाचार र बेथितिको विरोध गरेकै कारण संसद नै बन्द गरेर लोकतन्त्रलाई बन्धक बनाएर राखिएको छ।’