‘इरानका परमाणु वैज्ञानिकको हत्या रिमोट बन्दुकबाट’



काठमाडौँ। इजरायल र निर्वासित विपक्षी समूहले रिमोटबाट नियन्त्रित बन्दुक प्रहार गरेर परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहलाई हत्या गरेको इरानले जनाएको छ।

इरानका परमाणु वैज्ञानिक मोहसिनको गत शुक्रबार राजधानी तेहरान नजिकैको अबसार्ड शहरमा गत शुक्रबार गोली हानी हत्या भएको थियो। तेहरानमा मोहसिनको सोमबार अन्त्येष्टि गरिएको छ।

अन्त्येष्टिको क्रममा इरानका सुरक्षा प्रमुख अलि शामखानीले आक्रमणकारीले इलेक्ट्रोनिक उपकरण प्रयोग गरेको दाबी गरे। शामखानीले भने, ‘उहाँको सुरक्षाका लागि आवश्यक उपाय गरिएको थियो, तर दुश्मनहरुले बिल्कुलै नयाँ तरिका अपनाए। दुर्भाग्यवस हाम्रा दुश्मनहरु यसमा सफल भए। यो निकै जटिल मिसन थियो, किनभने यसमा इलेक्ट्रोनिक उपकरण प्रयोग गरिएको छ।’ घटनास्थलमा प्रत्यक्षदर्शी पनि कोही नरहेको उनले बताए।

उनले यो हत्यामा यहुदी शासन र मोसादसँगै निर्वासित इरानी विपक्षी समूह मुजाहिदिन–ए खाल्क ९एमकेओ० संलग्न रहेको उनले बताए। हालै फार्स न्यूज एजेन्सीले रिमोट कन्ट्रोलबाट नियन्त्रित गनको प्रयोगबाट परमाणु वैज्ञानिक मोहसिनको हत्या गरिएको समाचार सार्वजनिक गरेको थियो।

शुरुमा इरानी रक्षा मन्त्रालयले मोहसिनको कारलाई केही बन्दुकधारीले निशाना बनाएको र त्यही क्रममा गोली हानेर हत्या गरेको जानकारी दिएको थियो।
इजरायलले इरानको यो दाबीमा कुनै टिप्पणी गरेन।

सन् २००० को दशकको शुरुआतमा मोहसिन फखरीजादेहले इरानको परमाणु कार्यक्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । इरानले परमाणु वैज्ञानिक मोहसिनको हत्याको बदला लिने चेतावनीसमेत दिएको छ।