काठमाडौँ। राजधानीको माईतिघरमा गणतन्त्र मुर्दावादको नारा लागेको छ।
राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिले आयोजना गरेको आमसभामा उपस्थित भएका प्रदर्शनकारीहरुले गणतन्त्रले देश र जनताको रक्षा गर्न नसकेको भन्दै उक्त नारा लगाएका हुन्।
प्रदर्शनकारीहरुले गणतन्त्र धोका हो, संघीयता चाहिदैन, धर्म मास्न पाईंदैन, सनातन हिन्दुराष्ट्र जिन्दावाद, हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ, जस्ता नाराहरु लगाएका छन्। अभियानका अध्यक्ष तथा पूर्वमन्त्री केशरबहादुर विष्ट, वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ, प्रवक्ता अनिल योगी श्री शमशेर राणालगायतले आफ्ना विचारहरु व्यक्त गरेका थिए।
राजतन्त्र र हिन्दु राज्य पुनःस्थापना तथा संघीयता खारेजी माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले विभिन्न स्थानबाट जुलुस निकालेर माइतीघरमा प्रदर्शन गरेका थिए। उनीहरुले हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भनेर नारा घन्काएका थिए। बबरमहल, सिंहदरबार, थापाथलीसहितका स्थानमा गरिएको कडा सुरक्षाको बावजुद उनीहरु माइतीघरमा जम्मा भएर प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनमा काँग्रेसभित्र हिन्दुराष्ट्र पक्षधरसँग नजिक रहेका नेपाल विद्यार्थी संघको संस्थापक अध्यक्ष विपीन कोइराला पनि सहभागी थिए।
आगामी मंसिर २० गते राजावादीहरुले बृहत् प्रदर्शन तयारी स्वरुप यो प्रदर्शन गरिएको बताइएको छ। पछिल्लो समय देशका प्रमुख सहरमा वर्तमान व्यवस्था विरोधीको सडक उपस्थिति देख्न सकिन्छ।
यसअघि काठमाडौँको जमल, मोरङको विराटनगर, बर्दिया, कैलालीको धनगढी, धनुषाको जनकपुर र कास्कीको पोखरामा, बाँकेको नेपालगञ्ज, मकवानपुरको हेटौंडा र रुपन्देहीको बुटवलमा ठूलो सङ्ख्यामा प्रदर्शन भएको थियो।