१७ सय ३ जनामा कारोना संक्रमण, २३ जनाको मृत्यु



काठमाडौँ। वितेको २४ घण्टामा देशभर थप १७ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१० हजार ४६० जनाको पीसीआर परीक्षण गरिएकोमा १००७ जना पुरुष र ६९६ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ।

काठमाडौँ उपत्यकामामात्र ८२२ जना संक्रमित थपिएका छन्। यसमा ४४३ जना पुरुष र ३७९ जना महिला रहेका छन्। अहिले काठमाडौँ, भक्तपुर, ललितपुर, झापा र कास्कीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्। मनाङ र डोल्पा संक्रमणमुक्त भएको छ।

यो अवधिमा १२ सय ३६ जना निको भएका छन्। हालसम्म नेपालमा २ लाख १० हजार ६७१ जना निको भइसकेका छन्। नेपालमा निको हुने दर ९१.९ प्रतिशत रहेको छ।

पछिल्लो २४ घण्टामा थप २३ जनाले ज्यान गुमाएका छन् । हालसम्म मृत्यु हुनेको कूल संख्या १४३५ रहेको छ ।

संक्रमित मध्ये १० हजार ९४४ जना होम आइसोलेसनमा छन् भने ३५४ जनाको आइसीयू तथा ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।