‘प्रधानमन्त्रीलाई बुझाएको आरोप पत्र प्रकाशन गर्नु अवैधानिक कार्य हो’



काठमाडौँ। अनेरास्ववियूका संयोजक ऐन महरले मातृपार्टी नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी एकता भंगको घोषणा गरिसकेको दाबी गरेका छन्।

बुधबार समाजिक सञ्जाल फेशबुकमार्फत संयोजक महरले अध्यक्ष प्रचण्डले पार्टी एकता भंग भएको घोषणा गरिसकेको दाबी गरेका हुन्।उनले लेखेका छन्, ‘क.प्रचण्डले पार्टी एकता भंग भएको घोषणा गर्नु भएको छ। पार्टीको सचिवालय बैठकमै अबैधानिक रुपमा प्रस्तुत भएको कथित राजनीतिक प्रतिवेदन भनिएको आरोप पत्र जसलाई सचिवालयको बैठकमा पार्टीका सिनियर अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले खारेज गरिसक्नु भएको छ।’

मंसिर ३ गते प्रचण्ड पक्षका नेताहरुले प्रधामनत्री केपी ओलीलाई बुझाएको प्रस्तावलाई प्रकाशन गरेर वितरण गरिएकोमा स्रयोजक महरले आपत्ति प्रकट गरेका छन्। उनले अगाडि लेखेका छन्, ‘त्यसको उचित जवाफ दिने भनि यहि मंसिर १३ गते सचिवालय बैठकसमेत आह्वान गरिसकेको परिस्थितिमा हतारहतार त्यसलाई पुस्तकमा प्रकाशन गरेर तल्ला कमिटिमा छलफलका लागि पठाउने काम अबैधानिक अमर्यादित अनुशासनहिन र पार्टी एकता भंगको आधार निर्माण गर्नु भएको छ।’

संयोजक महरले प्रचण्ड पक्षको कदमको दृढतापूर्वक सामना गर्न सबैमा अनुरोधसमेत गरेका छन्। उनले भनेका छन्, ‘प्रचण्डले आफ्नो खुट्टामा बन्चरो हान्ने काम आफैले गर्नु भएको छ। यसको दृढतापुर्वक सामना गर्न म सम्पुर्ण न्यायप्रेमी प्रगतिशिल रास्ट्रवादी नेकपाका कार्यकर्ता एवं युवा विद्यार्थी साथिहरुमा हार्दिक अपिल गर्दछु।’