ओलीद्वारा देउवालाई प्रधानमन्त्रीको अफर!


काठमाडौँ। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेटलाई लिएर यतिखेर देश तथा विदेशमा चर्चा भइरहेको छ।

नेकपाभित्र अल्पमतमा परेका र अर्का अध्यक्ष प्रचण्ड पक्षका संगीन आरोप खेपिरहेका प्रधानमन्त्री ओलीले देउवासँग सत्ता साझेदारको प्रस्ताव गरेको विश्लेषणसमेत भइरहेका छन्। तथापी कांग्रेसका कतिपय नेता भने उक्त भेटमा ओली मात्र होइन, देउवाको पनि स्वार्थ रहेको बताउँछन्।

भनिन्छ, पार्टीभित्र देउवा सहज अवस्थामा छैनन्। महाधिवेशन नजिकिँदै जाँदा आफ्नै समूहमा संकट चुलिएको छ। खासगरी उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने लगभग पक्का भएपछि देउवा दबावमा परेका छन्।

जोतिषिको आर्शिवादमा फेरि पार्टी सभापति र प्रधानमन्त्री बन्ने चाह भने घटेको छैन। त्यसैले सत्तारुढ नेकपा विभाजनसम्म हुन सक्ने गरी भएको विवादलाई चासोपूर्वक हेरेको नेताहरु बताउँछन्।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने नेकपाको विवादमा कांग्रेस निरपेक्ष रहेको दाबी गरेका छन्। ‘कोही कसैलाई भ्रम छ भने’ भन्दै उनले ट्वीट गरेका छन्, ‘५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई। अतः कुनै पनि भड्कावबाट टाढा छौं, रहने छौं। यता या उताको जोड–घटाउमा कांग्रेसको शीर गन्ने धृष्टता कोहीबाट नहोस्।’