‘ओलीले बालुवाटारलाई विदेशीहरुको चौतारो बनाए’


काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अनुसाशन समितिका संयोजक भिष्मराज आङ्दम्बेले नेकपाको सरकारले बैदेशिक हस्तक्षेप निम्त्याएको आरोप लगाएका छन्।

नेपाल साँस्कृतिक कलाकर्मी संघले राजधानीको अनामनगर स्थित सिलौटो रेष्टुरामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै नेता आङ्दम्बेले उक्त आरोप लगाएका हुन्। उनले भने, ‘नेकपा सरकारले बैदेशिक हस्तक्षेप निम्त्याएको छ। आन्तरिक विवादलाई लिएर कहिल्यै भारतीय ‘रअ’ का प्रमुख त कहिल्यै चीनियाँ राजदुतलाई नेपालको कुटनीतिक मर्यादा नाघेर भेटेको पाईन्छ। हिजो सत्ता बाहिर हुँदा कम्युनिष्टहरुले वैदेशिक हस्तक्षेपको खुब विरोध गरेको सुनिन्थ्यो। आज आफै कुटनितिक मर्यादालाई ख्याल नगरी सरकारी निवास बालुवाटारलाई विदेशीहरुको चौतारो बनाई रहेका छन्।’

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेता आङदम्बेले कोरोना महारीलाई सरकारले सुरुदेखिनै लापरबाही गरेको आरोप लगाए। उनले भने, ‘कोरोना जस्तो महामारीलाई सरकारले सुरुदेखि नै लापरबाही र बेवास्ता गर्यो। सरकार महामारीलाई नियन्त्रण गर्नेभन्दा पनि भ्रष्टाचार, कमिसन, अराजक गतिविधि, सांसद अपहरण, स्वाथ्य सामाग्री खरिदमा घोटाला, राजनीतिक दल बिभाजन सम्बन्धि विद्येयक ल्याउनतर्फ केन्द्रित बन्यो। जुन कुरा देश र जनताको हित विपरित थियो।’

देशलाई लकडाउनमा राखेर सत्ता र पार्टीको आन्तरिक विवादलाई लिएर लफडामा ब्यस्त बनेको बताउँदै सरकारलाई संवेदनशिल बन्न आगग्रह गरे। उनले भने, ‘सरकारले सुरुमा नेपाली विद्यार्थीहरुलाई चीनबाट जहाजमा राखेर ल्यायो। तर, भारतमा काम गर्ने दाजुभाइलाई भूमी प्रवेशमा रोक लगायो। समयमा ख्याल नगर्ने, नक्कली स्वास्थ सामग्री खरिद गर्ने आरडिटी परिक्षणलाई लागु गर्ने काम गर्यो। जुन कार्य जघन्य अपराधिक थियो। आज दुःखकासाथ भन्नुपर्ने दिन आयो ढिलो चाँडो कोरोना सबैलाई लाग्छ। यसलाई त्रास होइन, ख्याल गरौं।’

संघका अध्यक्ष डिभी गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल साँस्कृतिक कलाकर्मी संघ, अमेरिकाकी अध्यक्ष बिना खड्कालाई सम्मान गरिएको थियो। खड्काले अमेरिकामा बसेर नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्ने, प्रचार-प्रसार गर्ने जस्ता अभियानहरु सञ्चालन गरेर नेपालको साँस्कृतिक क्षेत्रको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेका कारण सम्मान गरिएको आयोजकले जनाएको छ।

२० वर्ष पहिले अमेरिका पुगेकी खड्काले अमेरिकामा नेपाली पाठशाला खोलेर प्रवासी नेपाली बालबच्चाहरुलाई नेपाली भाषा र संस्कृतिका बारेमा अध्यापन गराउँदै आएकी छन्। अमेरिका पुगेका नागरिकहरुले नेपाली सस्कृतीको जगेर्ना गर्ने लक्ष्यकासाथ उक्त पाठशाला खोलिएको उनको भनाई छ।

खड्का पेशाले नर्स भएपनि नेपाली भाषा संस्कृती र सस्कारलाई गहन रुपमा लिने व्यक्ति पनि हुन्। उनले अमेरिकामा नेपालका भाषा, धर्म, पर्व, मेला, महोत्सवहरुको आयोजना गर्दै आएको दाबी गरिन्। हालै तिहार र छठ पर्व जुम मार्फत मनाएको बताईन्।

कार्यक्रममा संघकी उपमहासचिव सरु सुनारले स्वागत मन्तव्य राखेकी थिइन। संघका वरिष्ठ उपाध्यक्ष उदिराम खड्काले कार्यक्रम संचालन गरेका थिए। त्यस्तै कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’, गायिका टिका पुन, अर्जुन सुनाम, कृष्ण रेउले, सुनिता दुलाललगायतको उपस्थिति रहेको थियो।