कोरोनाका कारण थप दुई जना चिकित्सकको ज्यान गयो


काठमाडौँ। भाइटीकाकै दिन कोरोना संक्रमणका कारण दुई जना डाक्टरको ज्यान गएको छ। विरामीको उपचार गर्दागर्दै कोरोना संक्रमण भएका बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा।डा सुनिल झा र डा.नारायण बहादुर थापाको मृत्यु भएको हो।

झा त्रिभुवन विश्वविद्यालय अध्ययन संस्थानका प्राध्यापक एवम् बरिष्ठ मुटुरोग विशेषज्ञ हुन भने थापा नेपाल बर्न सोसाइटी तथा इसान अस्पतालका अध्यक्ष हुन। प्रा.डा. झाको आज विहान मृत्यु भएका हो भने थापाको गयराती मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख नजिक

काठमाडौँ उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या १ लाख नजिक पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म उपत्यकामा ९७ हजार १५९ जनामा संक्रमण पुष्टि भइसकेको छ।

जसमध्ये काठमाडौंमा ७८ हजार ६५०, भक्तपुरमा ७ हजार १३० र ललितपुरमा ११ हजार ३७९ जना रहेका छन्। जसमध्ये काठमाडौंमा ६४ हजार ७०, भक्तपुरमा ५ हजार ८६६ र ललितपुरमा ९ हजार ८९ जना निको भइसकेका छन् भने सक्रिय संक्रमित काठमाडौंमा १४ हजार २७९, भक्तपुरमा १ हजार १८८ र ललितपुरमा २ हजार २०४ जना रहेका छन्।

यसैगरी हालसम्म काठमाडौंमा ३०१, भक्तपुरमा ७६ र ललितपुरमा ८६ जनाले ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार सोमबार काठमाडौं उपत्यकामा ५०१ जनामा संक्रमण पुष्टि भएको छ। जसमा महिला २१२ र पुरुष २८९ जना रहेका छन्।

मन्त्रालयका अनुसार तिहारको भाइटीकाका दिन सोमबार देशभर ११९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। तिहारकै कारणले बितेको २४ घण्टामा जम्मा ४ हजार ८३२ जनाको मात्र पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना पुष्टि भएको हो। संक्रमितमा ४६२ महिला र ७३५ पुरुष रहेको मन्त्रालयले सोमबार जानकारी दिएको छ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २९३४ जना संक्रमण मुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ। यससँगै देशभर संक्रमितको कुल संख्या २ लाख १० हजार ९७३ पुगेको छ भने निको हुनेको संख्या १ लाख ७६ हजार ३६४ रहेको छ। अब देशभर सक्रिय संक्रमित ३३ हजार ३७९ जना रहेका छन् ।

यस्तै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १२३० पुगेको छ। यस्तै १०१३ जना क्वारेन्टिनमा रहेका छन् भने संक्रमितमध्ये २८ हजार ३६० जना होम आइसोलेशनमा रहेका छन्। हाल मनाङ बाहेक अरु सब जिल्लामा सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लामा उपत्यकाका तीन जिल्लासहित झापा, मोरङ, सुनसरी, चितवन, कास्की, नवलपुर, दाङ, रुपन्देही, पाल्पा र कैलाली रहेका छन्।