कलाकार गजुरेल अस्पतालबाट डिस्चार्ज


काठमाडौँ। कार्तिक १० गते कोरोना भाइरस (कोभिड–१९) संक्रमित बनेका हास्यकलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन्।

संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो। डिस्चार्ज भएको खबर गजुरेल आफैंले सामाजिक सञ्जाल फेशबुकमार्फत् जानकारी दिएका छन्।

गजुरेल ११ दिनपछि अस्पतालबाट घर फर्किएका हुन्। उनले आफ्नो फेसबुक पेजमा आइतबार बिहानै लेखेका छन्, ‘११ दिनको अस्पताल बसाईपश्चात् घर फर्किएर आराम गरिरहेको छ । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्कनेछु। ’

उनले उच्च स्तरको उपचार सेवा प्रदान गरेको भन्दै नेपाल एपिएफ अस्पताल परिवार र परिवारका सम्पूर्ण सदस्यहरु र शुभचिन्तकलाई धन्यवाद दिएका छन्। उनले महामारीबाट सकेसम्म आफू पनि जोगिन र अरुलाई पनि जोगाउन आग्रह गरेका छन्।