जुम्ला। जिल्लाको हिमा गाउँपालिका–३ की १६ वर्षीया बालिका बबिता रोकाया हत्या प्रकरणको मुद्दा कमजोर पार्न खोजको भन्दै पीडित पक्ष आन्दोलित बनेका छन्।
पीडित पक्ष र प्रहरी, सशस्त्र प्रहरीबीच झडप हुँदा खाम्बा रोकाया, हरिभक्त कठायत र सुबी कठायत गम्भीर घाइते भएका छन्। त्यसैगरी सशस्त्र प्रहरीका उदय खत्री र राजबहादुर रावत घाइते भएका छन्। नेपाल प्रहरीका निदेश रोकाया घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइते भएकाहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला उपचार भइरहेको छ। प्रहरीले हरिभक्त कठायत र खाम्बा रोकायालाई नियन्त्रणमा लिएको जनाएको छ।
मृतक बालिकाका आमाबाबु कोही पनि छैनन्। साइलाबाबु कर्ण रोकायाले संरक्षण गर्दै आएका थिए। प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार १९ असोज ०७७ को राति घरबाट बेपत्ता भएकी किशोरीको १ कात्तिकमा हिमा गाउँपालिका– १ पागरपालीस्थित हिमा नदीको छेउमा शव फेला परेको थियो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा १ कात्तिकमा पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टम गर्दा किशोरीको पेटमा तीन महिनाको बच्चा देखिएको थियो।