‘प्रजातान्त्रिक शक्तिहरु एकजुट हुनु आवश्यक छ’



काठमाडौँ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकार लोकतान्त्रिक मूल्य मान्यताहरुलाई भत्काउनतर्फ अग्रसर भएको आरोप लगाएका छन्।

शनिबार पोखरामा कांग्रेसका सांसद स्वर्गीय सूर्यबहादुर केसीको १३औं दिनको पुण्य तिथिमा नेपाली कांग्रेस कास्कीद्धारा आयोजना श्रद्धाञ्जली सभामा सहमहामन्त्री डा.महतले उक्त आरोप लगाएका हुन्।

नेता महतले राष्ट्रिय एकताका लागि सबै प्रजातान्त्रिक शक्तिहरु एकजुट हुनुपर्ने समय आएको बताए। नेकपा सरकारका कारण देशमा अराजकता, कुशासन र बेइमानी बढेको उनको जिकिर छ।

उनले भने, ‘कम्युनिष्ट सरकारको जवाफदेहिताको अभाव र बेवास्ताका कारण देश यतिखेर अत्यन्तै कठिन मोडमा पुगेको छ। यस्तो बेलामा प्रजान्त्रिक मूल्य र मान्यतालाई जोगाइ राख्न नेपाली कांग्रेस र यसको नेतृत्वमा देशका समग्र प्रजातान्त्रिक शक्तिहरु नै एकजुट हुनु आवश्यक छ।’

महामारी र आर्थिक क्षतिका कारण आहात भएका नागरिकलाई राहत दिनुको सट्टा सरकार भने पद र पैसाका लागि लाजमर्दो रुपमा आपसी झगडामा व्यस्त भएको देखिएको उनको टिप्पणी थियो। सहमहामन्त्री महतले सूर्य बहादुर केसीले नेपाली काँग्रेसको एक सांसदका रुपमा नेपालमा प्रजातान्त्रिक प्रक्रियामा सघाएको भन्दै स्मरण गरे।