काठमाडौँ। निक्कै लामो समयसम्म विवादित बनेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक ४० मिनेट बसेर सकिएको हो। बैठकमा पार्टीभित्र उत्पन्न संकटलाई सूचीबद्द ढंगले कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।
प्रवक्ता श्रेष्ठकाअनुसार बैठकमा कर्णाली प्रदेशलगायतका सांगठानिक संरचनाभित्र देखिएको समस्या समाधान गर्ने विषयमा पनि छलफल भएको छ।
बैठकमा विशेषगरी पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत ५ जनालाई लेखेको पत्र, कार्यकारी अध्यक्ष प्रचण्डसहित ५ नेताले ओलीलाई लेखेको पत्र र अन्तरपार्टी निर्देशिका केही दिन अध्ययन गर्नका लागि सचिवालय सदस्यहरुलाई बाँडिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
अर्को बैठक मंसिर ३ गते १ बजे बस्नेसमेत उनले बताए। प्रचण्ड-माधवकुमार समुहले कार्तिक २३ र २५ गते ५ जनाको उपस्थितिमा पार्टीकार्यालय धुम्बराहीमा अनौपचारिक बैठक बसेको थियो।
राजदुत नियुक्ति, मन्त्री परिषद पुनर्गठन, कर्णाली विवाद, रअ प्रमुखसँगको भेट, कोरोना नियन्त्रणमा उचित कार्य गर्न नसक्नुलगायत विषयमा प्रचण्ड—माधवकुमार समूह असन्तुष्ट रहेको थियो।
पार्टीमा उत्पन्न बिबाद क्रमवद्ध कार्यसूचि बनाएर छलफल गर्ने, सचिवालय बैठक आगमी मंसिर ३ गते १ बजे बस्ने, पार्टीको विवाद समाधान गर्नको लागि अध्यक्ष प्रचण्डले तयार पारेको प्रस्ताव र स्थायी कमिटीको बैठकपछि जारी गरिएको निर्देशिका सचिवालयका सबै सदस्यलाई वितरण गरेको छ।