बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण


काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ।

नागरिक उड्डयन प्राधिकरण (क्यान) को मापदण्डअनुसार प्रधानमन्त्री निवासमा हेलिप्याड निर्माण कार्य सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार फेसबुकमार्फत जानकारी गराएका हुन्।

उनले प्रधानमन्त्री नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा हिजो २०७७ साल कात्तिक २६ गते नवनिर्मित हेलिप्याडबाट नै पहिलो उडान गरिएको समेत जनाए।

‘साँझ निवास फर्किदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण गरिएको थियो। यसबाट अब उपरान्त बालुवाटारबाट एयरपोर्ट जानआउन लाग्ने समय बचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना हुने छैन’, सल्लाहकार थापाले फेसबुकमा फोटोसहित राख्दै भनेका छन्।